पूर्व मन्त्री बस्नेतले बाँडे चित्रपुरका ९८ परिवारलाई लालपुर्जा

नारायण थापा
भक्तपुर । पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले स्वबासीका ९८ परिवारलाई लालपुर्जा वितरण गर्नुभएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ कार्यालयले दधिकोटको चित्रपुरमा आयोजना गरेको कार्यक्रममा लालपुर्जा वितरण वितरण गर्नुभएको हो ।

मन्त्री बस्नेतले लालपुर्जा बाँड्दै जनप्रतिनिधि व्यवहारिक हुनुपर्ने बताउनु भयो । ‘जनप्रतिनिधिले बोल्ने मात्र होइन, काम पनि गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘पहिलाका जनप्रतिनिधिले भाषण मात्रै गर्थे, चुनावका बेला मात्र जनता माझ आउँथे । अहिलेका जनप्रतिनिधिले पहिलाले जस्तो गरेर हुँदैन । पटक पटक जनता समक्ष पुग्नुपर्छ । जनताको दुःख बुझ्नुपर्छ । जनताले दुःख पाउने दिन समाप्त हुँदैछ ।’

पूर्व मन्त्री बस्नेतले चित्रपुरमा क्रसरोड बन्ने चर्चा गर्दै ललितपुरको बालकुमारीदेखि बालकोट, चित्रपुर हुँदै शिकारीटार, अनन्तलिङ्गेश्वर मन्दिर, कालिकाडाँडा हुँदै रानीकाटेसम्म जाने सूर्यविनायक नगरपालिकाको मुख्य सडक बन्न लागेको जानकारी गराउनुभयो ।