कुलेखानी तेस्रो जलविद्युतको परीक्षण सफल

हेटौंडा : मकवानपुरमा रहेको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य सकिएको छ। आयोजना तोकिएको सयमभन्दा ५६ महिना ढिलो गरी सकिएको हो।

आयोजना निर्माणकार्य सकिएपछि  परीक्षण उत्पादन गरिएको छ। परीक्षण उत्पादन सफल भएको आयोजनाले जनाएको छ।  कुलेखानी तेस्रोमा रहेका २ वटै युनिटबाट परीक्षण उत्पादन सफल भएको हो। आयोजनाले पहिलो युनिटमा शुक्रबार र दोस्रो युनिटमा शनिबार साँझसम्म परीक्षण उत्पादन गरिएको थियो। इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङको ढिलासुस्तीका कारण ४४ महिनामा सक्नुपर्ने कार्य करिब सय महिना बितेपछि निर्माण कार्य सकिएको हो।

एउटा युनिटबाट ७ मेगावाट विद्युत् उत्पादन हुन्छ। उत्पादन परीक्षण गर्न चीनबाट चार जना प्राविधिक टोलि आएका छन्। उनीहरूले उत्पादन परीक्षण गरिरहेको आयोजना प्रमुख सुवासकुमार मिश्रले बताए। दसैंपछि नियमित र व्यावसायिक उत्पादन हुने उनले बताए। मकवानपुरमा रहेको कुलेखानी पहिलो र दोस्रो आयोजनाबाट पनि नियमित उत्पादन भइरहेको छ।