त्रिविको उपकुलपतिका लागि कोइरालासहित तीनजनाको नाम सिफारिस

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले डा. भगवान कोइरालासहित तीनजनाको नाम सिफारिस गरेको छ ।

रोलक्रम अनुसार पहिलो नम्बरमा डा. कोइराल, दोस्रोमा डा. धर्मकान्त बाँस्कोटा, र तेस्रोमा डा. चन्द्रमणि पौडेलको नाम सिफारिस भएको शिक्षामन्त्रालयका उपसचिव पुष्प ढकालले जानकारी दिए ।

योसँगै डा. कोइराला उपकुलपति बन्ने लगभग पक्का जस्तै भएको छ । सुरुमा उपकुलपतिका लागि इच्छा नदेखएका कोइरालाले शिक्षामन्त्री गिरीराजमणी पोखरेलसँग भेटघाट र छलफल गरेपछि राजी भएको स्रोतको दावी छ ।

डा. कोइराला मुटु शल्यचिकित्सक हुन् भने डा. बास्कोटा ईएनटी विशेषज्ञ हुन्। त्यस्तै डा. पौडेल भने राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष हुन्, उनी त्रिविकै पूर्व रेजिस्ट्रार समेत थिए।

तीर्थ खनियाँको कार्यकाल सकिएपछि प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नाम सिफारिस समिति गठन गरेका थिए। समितिले सिफारिस गरेका मध्येबाट कुलपतिले एकजना चयन गर्ने व्यवस्था छ ।

शिक्षामन्त्रीको अध्यक्षतामा साउन २० गते उपकुलपतिको नाम सिफारिस समिति गठन भएको थियो। समितिमा व्यवस्थापन संकायको डिन, डिल्लीराम शर्मा र मेची क्याम्पस झापाका क्याम्पस प्रमुख कमलप्रसाद गुरागाइँ सदस्य थिए।

हाल २ महिनादेखि सुधा त्रिपाठीले त्रिविको उपकुलपतिको जिम्मेवारी सम्हालेकी छन्।