दाउन्नेमा दुई ट्रक ठोक्किएर अबरुद्द भएको बाटो एकतर्फी रुपमा सन्चालन

नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा एक तर्फी रुपमा यातायात सन्चालनमा आएको छ । विनय त्रिवेणी गाउँपालिका–२, दाउन्नेको विश्वकर्मा मन्दिर नजिक बिहीबार राति ९ बजे दुई वटा भारतीय ट्रक एक आपसमा ठोक्किएर पल्टिँदा दुईतर्फी नै अवरुद्ध सडक आज (शुक्रबार) बिहानबाट एक तर्फी रुपमा सन्चालनमा आएको ईलाका प्रहरी कार्यालय दुम्किबासले जानकारी दिएको छ ।

सडक दुईतर्फी रुपमा नै सन्चालनमा आउन भने अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । यूपी ५३ सी टी ९३२६ र यूपी ५३ जेजे १२३९ नम्बरको भारतीय ट्रक एकापसमा ठोक्किएर पल्टेका थिए । दुर्घटनामा परेको एउटा ट्रकलाई सडकबाट हटाइए पनि २२ चक्के यूपी ५३ जेजे १२३९ नम्बरको ट्रक सडक छेउमै रहेकोले यातायात सहज हुन अझै केही समय लाग्ने प्रहरीको भनाई छ ।

हिजो राती देखी यातायात अबरुद्द हुँदा दाउन्ने क्षेत्रमा अहिले पनि दुवैतर्फ झण्डै चार-चार किलोमिटर गाडीको लाम लागेको छ । सडक अबरुद्द हुँदा दसैं मनाउन घर हिंडेका यात्रुहरु समस्यामा परेका छन् ।