बाघ बाँचे हामी बाँच्छौँ

बाघ ठूलो भएपनि लजालु प्राणी हो । बाघ कालान्तरदेखि नै मांशहारी हो । बुढोहुँदा पनि उसले घाँस खाँदैन । विचित्र बानीका कारण बाघ सौन्दर्य, साहस र निडरताको प्रतिक बन्यो÷ बनिरहेको छ । तर, दुर्भाग्य यो सुन्दर जनावरको अस्तित्व संकटमा छ । बाघ दिनानुदिन घटिरहेका छन् । मान्छेको आफूप्रतिको आकर्षण नै यसको लागि दुर्भाग्य बन्यो । मान्छेले लुकीछिपी बाघको सिकार गर्न थाल्यो । उसका सुन्दर अंगहरु बहुमूल्य बन्न पुगे । बाघ बस्ने जंगल मासियो । आहाराको कमी हुन थाल्यो । अनि बलशाली जनावर आत्मरक्षा गर्न बाध्य बन्यो । सन् १९९५ मा नेपालमा नै बाघको संख्या जम्मा ९५ वटामा सीमित हुन पुग्यो । संसारभर नै यस्तो अवस्था रह्यो । सुन्दर जनावरको अस्तित्व लोप हुन थालेपछि केही संरक्षणवीदहरु चिन्तित बने । उनीहरुले बाघको आवश्यकता महशुस गरे अनि संरक्षणको अभियान थाले । नेपाल पनि यो अभियानमा सामेल बन्यो ।
अहिले नेपालमा दुई सय ३५ वटा बाघ रहेको तथ्यांकले देखाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवम् मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका छन् । संसारका १३ वटा देशमा मात्रै बाघ पाइन्छ । अहिले लाओसमा जम्मा दुई वटा बाघ छन्भने भारतमा सबैभन्दा बढी बाघ बस्दै आएका छन् । बूढापाकाहरु भन्थे, ढुंगाको भर माटो र माटोको भर ढुंगा । हो, प्रकृतिले हरेक जीव जनावरहरुलाई एकअर्काको सहायकको रुप उभ्याएको छ । यहाँ एउटाको अस्तित्व मेटिँदा अर्को बच्छु भन्नु मूर्खता नै हुन्छ ।
वनको बाघले मान्छेलाई प्रत्यक्ष केही नगर्ला तर वन संरक्षणमा उसले दिएको योगदान चानचुने छैन र होइन । वन नै नरहे बाघ मात्र होइन, मान्छे पनि नरहने र पृथ्वीको अस्तित्व नै संकटमा पर्ने प्रमाणित विषय हो । यसैले बाघ संरक्षण गर्नु भनेको एउटा हिंश्रक जनावर जोगाउनु मात्रै होइन, पर्यावरण र मानव सभ्यता जोगाउनु हो । मानव सभ्यता जोगाउन बाघको संरक्षण हुनैपर्छ । अर्कोतर्फ यो सुन्दर जनावर भोलिका हाम्रा सन्ततिले पनि हेर्न पाउनुपर्छ । यसको लागि हुँदै गरेका संरक्षणका अभियानलाई निरन्तरता दिँदै चोरी सिकार नियन्त्रण, पर्यावरण अनि वन संरक्षणमा अझ द्रूतगतिले काम गर्नुपर्छ । अहिले नेपालले बाघ संरक्षणमा देखाएको सक्रियताले आशा जगाएको छ । विश्व बाघ दिवस मनाउँदै गर्दा बाघ संरक्षणको लागि दीर्घकालीन योजना पनि तयार पारिनुपर्छ ।