कृषि विश्वविद्यालयको उपकुलपति चयनको मापदण्ड के हो ?

आदित अजात

देशैभरका चार महत्वपूर्ण विश्वविद्यालयका उच्च नेतृत्वको रुपमा रहेको उपकुलपतिको कार्यकाल सकिएर हाल कायममुकायमको भरमा चलिरहेको अवस्था रहेको छ । कायममुकायमको रुपमा हाल नियुक्ति प्राप्त कुनै पदाधिकारीहरुबाट नै उपकुलपति चयन भएता पनि निकट भविष्यमा नै पाँच वर्षे कार्यकालसहित नयाँ उपकुलपतिको चयन हुने निश्चित रहेको छ । तर, बिडम्बना उपकुलपति छनौटका लागि औपचारिक रुपमा कहीँ कतै कुनै निकाय सक्रिय भएको देखिँदैन, न कुनै घोषित मापदण्ड बनाएर पारदर्शी रुपमा छनौट गर्ने विधि, जुन निकै जोड तोडका साथ उठाइयो, त्यो कार्यान्वयन नहुने संकेत देखिएको छ । त्रिविको हकमा केही सफा अनुहारलाई उपकुलपतिको रुपमा प्रस्ताव गरिएको बजार हल्ला सुनिन्छ तर कृषि तथा वन विज्ञान विश्वविद्यालय लगायत मोफसलमा रहेका अन्य विश्वविद्यालयमा त्यति उचित ध्यान राज्यका प्रमुख निकायको पुग्न नसकेको आभास हुन्छ । मन्त्री छनौटको समयमा कृषि मन्त्री मुख्य नेताहरुको प्राथमिकतामा नपर्नु, उपकुलपति छनौटको समयमा कृषि प्रधान देशको रुपमा रहेको नेपाल जस्तो अल्पविकसित राष्ट्रका लागि कृषि विश्वविद्यालय राज्यको प्राथमिकतामा नपर्नु आफैंमा बिडम्बनापूर्ण स्थिति रहेको छ ।

कायममुकाय उपकुलपतिको रुपमा प्रा. डा. सुधा त्रिपाठी रहेता पनि त्रिविको प्रस्तावित उपकुलपतिमा डा. भगवान कोइराला, अरुण सायमि, देवराज अधिकारी जस्ता दिग्गज व्यक्तित्वहरुको नाम चर्चामा चल्यो । चर्चामा चलेकाको बाहेक दोश्रो व्यक्तिको पनि संभावना छ । उपकुलपतिको दौडमा धेरै अन्य प्राध्यापकहरुको नाम चर्चामा रहेको छ । त्रिविमा कार्यरत केही प्राध्यापकको पोखरा लगायत अन्य विश्वविद्यालयको उपकुलपतिको रुपमा नियुक्ति हुने समेत चर्चा छन् । यस्तै अंक गणितको खेलमा लाग्ने, नेताहरुको घरदैलो चाहार्ने र चिठ्ठा परेमा पाँच वर्ष विश्वविद्यालयको उच्च पदाधिकारीको रुपमा आसिन हुने दाउमा प्राध्यापक बुद्धिजीवीहरु रहनुभएको देखिन्छ । यही दौडमा निवर्तमान उपकुलपति तीर्थ खनिया पनि दौडनुभएको समाचार उहाँमार्फत नै संचार गृहमा चुहाइयो, जसले वामपन्थी तथा लोकतान्त्रिक दुवै समूूहमा केही समय हलचल नै ल्याइदियो । आश्विन ५ गते मध्यपश्चिम र पोखरा विश्वविद्यालयको उपकुलपतिको पनि म्याद सकिँदै गर्दा काठमाडौं थप गर्माएको पक्कै आभास हुन्छ ।

उल्लेखित ठूूला अनुहारबीच कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि प्रस्तावित अनुहारहरु आफैंमा कमजोर देखिए । त्यसका विविध कारण छन् तर सोही कारणले होला सायद कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनौट निकै हलुका तरिकाले टुंगिने निश्चित देखिन्छ र यसमा केही विधि, प्रक्रिया र परम्परागत मान्यताको तोडमोड निश्चितप्रायः छ । यस्तो संवेदनशील क्षेत्रमा जब विधि, प्रक्रिया र परम्परागत मान्यताको धज्जी उडाउने प्रयास मात्र हुन्छ, त्यहाँ माफिया, कालोबजारिया र दलालहरु हावी हुन्छन नै । त्यसले कृवविविको ओजलाई झन् घटाउने देखिन्छ । यस्तो नहोस भनेर कृवविविसँग नजिक रहेका शुभचिन्तकहरुको ठूूलो हिस्सा चिन्तित देखिन्छ, राष्ट्रिय रुपमा बहस पनि चलेका छन् तर ती बहस÷छलफलले कत्तिको सकारात्मक परिणाम ल्याउँछ समयले देखाउने छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रथम उपकुलपतिको रुपमा प्रा. डा. कैलाशनाथ प्याकुरेल नियुक्त हुनुभयो र उहाँलाई पच्छ्याउँदै प्रा.डा. ईश्वरीप्रसाद ढकाल दोश्रो उपकुलपतिको रुपमा नियुक्त पाउनुभयो । स्थापनाकालदेखि नै त्रिविसँग टसल परेता पनि रामपुरमा कृवविविलाई स्थापित गर्ने श्रेय प्रा.डा. कैलाशनाथ प्याकुरेललाई जान्छ भने त्यसलाई सकारात्मक रुपमा निरन्तरता दिँदै अन्तर्राष्ट्रिय समुदाय विशेषतः भेटेरिनरी समुदायमा कृवविविलाई स्थापित गर्ने श्रेय प्रा. डा. ढकाललाई जान्छ । तर दुई उपकुलपतिको कार्यकाल विवादरहित भने रहेन । ऐनमा स्पष्ट उल्लेख भए पनि कृवविविको स्वामित्वमा आउनुपर्ने वन विज्ञान अध्ययन संस्थान, त्रिविको भूभागबाट कृवविवि झण्डै झण्डै विस्थापित नै भयो भने विषयगत विश्वविद्यालयको रुपमा स्थापित कृवविविमा प्रा. डा. प्याकुरेलको व्यक्तिगत लहडमा कृषि तथा वन भन्दा बाहिर असम्बन्धित विषयकाले सोझै विद्यावारिधि गर्न पाउने व्यवस्था लागूू भयो जसलाई कृवविविले हालसम्म पनि सुधार्न सकेको देखिँदैन । तेश्रो, कृवविविको दिर्घकालिन योजना तर्जुमादेखि विविध पाटोमा आत्मनिर्भर भई राज्यसँग प्रत्यक्ष समन्वय गरेर अघि बढ्नुपर्नेमा युएसएड लगायत विदेशी परियोजनाको भर परेको देखियो, समग्र शिक्षा क्षेत्रमा त्यसले दीर्घकालीन रुपमा हानि पु¥याउने निश्चित छ ।

पछिल्लो चरण प्रा. डा. ढकालको कार्यकाल झनै विवादित रुपमा वित्यो । विवादको प्रमुख केन्द्र प्रस्तावित क्रिकेट रंगशाला पनि रह्यो । दोश्रो, देशभर उच्च जनशक्तिको माग हुँदाहुँदै पनि कृषि संकायले विद्यार्थी संख्या केन्द्रमा बढाउँदै आंगिक कलेजहरु पनि थप गरिरहेको सन्दर्भमा भेटेरिनरीतर्फ विश्वविद्यालय अनुदान आयोगले चासो दिँदा दिँदै पनि विद्यार्थी संकाय थप्न उहाँले चासो दिनुभएन । तेश्रो, अघिल्लो पदाधिकारीहरुले सुरु गरेर खुलाउन नसकी थाती राखेर छाडेको निजी सम्बन्धनको फाइल उहाँले खोल्नु मात्र भएन दिलाएरै छाड्नुभयो । विना पूर्वाधार कुखुुराको खोरमा उचित निरीक्षण विना गुपचुप आठवटा निजी कलेजलाई सम्बन्धन दिइएको देखिन्छ । आंगिक कलेजको तुलनामा निकै कमजोर मापदण्ड बनाएर सम्बन्धन दिलाउनेमा कृषि संकायका  डिन प्रा. जयप्रकाश दत्तलाई मात्र दोष दिएर प्रा. डा. ढकालले उन्मुक्ति पाउने अवस्था देखिँदैन ।

स्थापनाको छोटो समयमा विद्यावारिधि समेत अध्यापन सुरु गरि सकेको यस कृवविविभित्र संभावनासहित चुनौती पनि रहेको देखिन्छ । अबको नेतृत्वको मुख्य दायित्व निकै विवादित बनेको निजी सम्बन्धन र यससँग जोडिएर आएको आर्थिक चलखेलको पाटोलाई उचित निस्कर्ष दिनु हुन्छ । यससँगै स्थापना भई देशभर आफ्नो क्षेत्र विस्तार सुरु गरिसकेको कृवविविले राज्यलाई कृषि साथै वनसँग सम्बन्धित प्रविधि विकास गरेर हस्तान्तरण गर्नुपर्ने देखिन्छ । यसतर्फ विशेष योजना सहित निश्चित सपना बोकेको नेतृत्व कृवविविले आशा गरेको देखिन्छ न कि माफियासँग घाटी जोडिएको, निर्माणमा र त्यस मार्फत आउने कमिशनका चासो राख्ने र काज, बैठक भत्ता र विदेश भ्रमणमा मात्र जोड दिने पदाधिकारी । यसका लागि सम्बन्धित विषयमा ख्यातिप्राप्त केही नामहरु चर्चामा रहेका छन् । सेवा निवृत्तहरुमध्येबाट डा. ऋषि अधिकारी, प्रा. डा. दुर्गादत्त ढकाल, प्रा. डा. तेजबहादुर केसी, प्रा.डा. पुण्यप्रसाद रेग्मी, प्रा. डा. सूूर्यकान्त घिमिरे, श्याम सुन्दर पन्त, प्रा. डा अशोक मल्लिक आदिको चर्चा छ । कृवविविमा कार्यरतहरुमध्ये प्रा. डा. नवराज देवकोटा, प्रा. डा. नारायण जोशी, प्रा. डा. मोहन शर्मा, प्रा. डा. श्रवणकुमार साह, प्रा. डा. कालिका बहादुर अधिकारी, प्रा. जयप्रकाश दत्त आदि पनि उपकुलपतिको प्रतिष्पर्धामा देखिन्छन् । कायममुकायमको रुपमा कार्यकरत प्रा. डा. शारदा थपलिया नै थमौती हुने उत्तिकै संभावना पनि देखिन्छ । साथै रामपुरको चारघेरा बाहिरबाट दिग्गज व्यक्तित्व जस्तै डा. विष्णुप्रसाद उप्रेती, डा. दिलबहादुर गुरुङ्ग, आदि पनि उपकुलपतिका लागि चर्चामा नचलेका हैनन् ।

सैद्धान्तिक रुपमा निकै ठूूलठूूला कुरा गरे पनि अन्ततः वामपन्थीको सरकार भएकाले कृवविविको उपकुलपति चयन वामपन्थी अनुहारमध्येबाट नै हुने निश्चित देखिन्छ । त्यसमा पनि नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला र निर्वाचन क्षेत्र भएकाले पनि उहाँको समर्थनविना कोही उपकुलपति हुने संभावना कम छ, त्यसैले पूर्व माओवादीको कित्तामा नै निर्णय हुने र त्यसमा पनि अध्यक्ष दाहाल निकटको व्यक्ति नै उपकुलपति चयन हुने निश्चित रहेको चर्चा छ ।

उल्लेखित नामहरुमध्ये दुई अनुहार प्रा. जयप्रकाश दत्त र प्रा. श्याम सुन्दर पन्तको प्रबल संभावना उपकुलपति चयनमा देखिन्छ । वर्तमान कृषि संकायको डिन समेत रहनुभएका प्रा. जयप्रकाश दत्तको छवि रामपुरमा पछिल्लो समय धुमिल रह्यो । कृषि संकायको डिनको रुपमा विद्यार्थी र प्राध्यापकसँग उहाँले त्यति सकारात्मक प्रभाव रहेन तर सम्बन्धन प्राप्त गर्दैगर्दा निजी कलेजहरुको उहाँप्रति निकै सकारात्मक सम्बन्धनले नै उहाँको नाम उपकुलपतिको रुपमा चर्चाको शिखरमा पुग्यो । केही समयअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका ग्रहण गरी नेकपा प्रवेश गर्दै डिन समेत भइसक्नु भएका प्रा. दत्त स्वयं अध्यक्ष दाहालको विश्वासपात्रको रुपमा आफूलाई बताउँदै हिंड्नुुभएको छ । तर, केही समयअघि संकटकालको दौरान रामपुर भनेपछि नेकपा अध्यक्ष दाहालले सम्झने नाम हो प्रा. श्यामसुन्दर पन्त । त्यसैले दुई प्राध्यापकबीच एउटालाई छान्न अध्यक्ष दाहाललाई समेत हम्मेहम्मे पर्ने निश्चित छ । दुबै प्रतिष्पर्धी विद्यावारिधि नगरेकाले हाल कृवविविका संकाय अन्तर्गत विभागीय प्रमुख पनि विद्यावारिधि गरेको हुनुपर्ने नियमका बीच विद्यावारिधि वेगरका व्यक्तिलाई उपकुलपतिको नियुक्ति नेपाल सरकारले शिक्षा मन्त्रीको सिफारिसमा हुनसक्ने देखिदैन ।  त्यसैले मुख्य कृवविविका कारणले अघिल्लो पटक निर्णय नभई कायममुकायम मात्र निर्णय भएकाले कुनै दोश्रो विकल्पको रुपमा उपयुक्त पात्रको खोजी भएको पनि देखिन्छ ।

अन्य विश्वविद्यालयसहित कृवविविको उपकुलपति चयनका लागि प्रस्ताव तयार पार्न शिक्षा मन्त्रीको नेतृत्वमा एउटा समिति पनि बनेको देखिन्छ तर पारदर्शी रुपमा कुनै निश्चित मापदण्डबिना बनेको सो समितिको कुनै अधिकार नहुने र नेताहरुकै तजबिजीमा भरपर्ने देखिन्छ । विश्वविद्यालयको उपकुलपति जस्तो पद हचुवाको भरमा टीके प्रथाको रुपमा नियुक्ति हुने हिजो जुन परम्परा पञ्चायतकालदेखि देखियो, त्यसलाई रातारात आमुल परिवर्तनको हामीले आशा पनि नगरौं तर केही सुधारको गुञ्जायस त गर्न सकिन्छ । यसमा राजनैतिक रंग र त्यसमाथि अझ गुटगत रंगको गुन्जायस मात्र पनि दुःखद हो । त्यसैले के मापदण्डका बीच कृवविविको उपकुलपतिको चयन हुँदैछ, कृवविविका विद्यार्थी र प्राध्यापक मात्र हैन सरोकारवाला ठूूलो समुदायले नियालिरहेको देखिन्छ । विश्वविद्यालय स्थापना पनि भयो, आफ्नो सेवा विस्तार पनि गरिसक्यो, अब यसले राज्यमार्फत उचित वातावरणसहित अधिकार र कार्यक्षेत्र नै तय गर्न सकियो भने कृषि सम्बन्धी प्रविधिको विकास र प्रसारमा उल्लेख्य योगदान दिन सक्छ । त्यसका लागि उत्तिकै सक्षम र स्वाभिमानी नेतृत्व चयन आजको आवश्यकता हो ।