भोजाड साकोसको वार्षिक साधारणसभा सम्पन्न

चितवन । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका छन् । भरतपुर ११ मा रहेको भोजाड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दसौं वार्षिक साधारणसभाका क्रममा सहभागीहरुले समृद्ध नेपाल निर्माणमा सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।
समुदायमा अधिकांश व्यक्तिहरु सहकारीमा आवद्ध हुने भएकाले ऋण लगानी गरेर व्याज मात्रै खाने परिपार्टीको अन्त्य हुनुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका हुन् । कार्यक्रममा नेफ्स्कुनका सञ्चालक सदस्य शान्ती अधिकारीले महानगरपालिका क्षेत्रमा कम्तिमा पाँच हजार हजार र नगरपालिका क्षेत्रमा दुई हजार र गाउँपालिकामा कम्तिमा ५ सय शेयर सदस्य संख्याको प्राबधान राखेर सरकारले सहकारी मर्ज गर्ने अवधारणा ल्याएकोमा त्यसलाई सबैले साथ दिनुपर्ने बताइन् ।
साथै अधिकारीले भोजाड बचत तथा ऋण सहकारी संस्थाको कार्य प्रगति देखेर खुसी लागेको बताउँदै संस्थाको थप उन्नतीका लागि शुभकामना ब्यक्त गरिन् । यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष यमनाथ आचार्यले संस्थाको प्रगतिका लागि महत्वपुर्ण भुमिका खेल्ने सम्पुर्ण शेयर सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
संस्थाका सहसचिव राधा अधिकारीले सहजीकरण गरेकी कार्यक्रममा उपाध्यक्ष तथा ऋण लगानी उपसमितिका संयोजक खेमलाल सुबेदीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडा सदस्य एवं नगर कार्यपालिका सदस्य बिना गुरुङ, सोही वडाको प्रगतिपथ टोल बिकास संस्थाका अध्यक्ष तोयानाथ भट्टराई, समझदारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज पौडेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
साधारणसभामा संस्थाका सचिव नगेन्द्रराज रेग्मीले वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष जयश्वर पोखरेल ‘पुष्कर’ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा संस्थाको भवन निर्माण समिति, असल बचतकर्ता, असल ऋणी, असल ब्यवसायी, एसईईका उत्कृष्ट छात्रछात्रा, जेष्ठ नागरिक र जेष्ठ शेयर सदस्यलगायतलाई सम्मान गरिएको थियो । कुल शेयर सदस्य संख्या १२ सय ४७ रहेको भोजाड साकोसले हाल आफ्नै सुबिधा सम्पन्न भवनबाट बचत संकलन तथा ऋण प्रबाहको काम गर्दै आइरहेको छ ।