लायन्स क्लबद्वारा देवघाटको वृद्धाश्रममा खाना

चितवन । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको आएको वृद्धाश्रमलाई वृद्धग्रामको रुपमा अगाडि बढाउने तयारी भएको छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलकाअनुसार वृद्धाश्रमलाई वृद्धग्राम बनाउनका लागि तनहूँको देवघाट गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका, नवलपुरको गैँडाकोट नगरपालिका तथा तीन वटै जिल्लाका प्रतिनिधिसभा सदस्यहरु सकारात्मक देखिएका छन् । आज देवघाटमा लायन्स तथा लियो क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ नारायणगढ नारायणीद्वारा आयोजित वृद्धाहरुलाई खाना खुवाउने कार्यक्रममा पौडेलले वृद्धाश्रम सुन्दर, सफा र रमणीय हुनुपर्छ भनेर काम अगाडि बढाइएको बताए ।
अनाथ व्यक्तिहरु मात्रै बस्ने ठाउँ नभएको उल्लेख गर्दै पौडेलले देवघाटलाई जीवनको उत्तराद्र्ध समयमा आनन्दको जीवन बिताउने ठाउँको रुपमा विकास गरिने बताए । वृद्धाश्रममा खाना खुवाउने कार्यक्रममा लायन्स तथा लियो क्लबले ३५ जना ज्येष्ठ नागरिकलाई खाना खुवाएका थिए । सो कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका निवर्तमान अध्यक्ष बालगोपाल चुकेले हरेक व्यक्ति वृद्ध हुने उल्लेख गर्दै सबैले उनीहरुको सम्मान गर्नुपर्ने बताए ।
चुकेले आफ्नो र परिवारका सदस्यहरुको जन्म दिन सो वृद्धाश्रममा पुगेर मनाउने गरेको उल्लेख गर्दै समाजका अन्य व्यक्तिले समेत शुभकार्यमा ज्येष्ठ नागरिकप्रति सद्भाव राख्नुपर्ने बताए । कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका पूर्व अध्यक्ष टेकबहादुर थापाले ज्येष्ठ नागरिकको सुरक्षाका लागि राज्यबाट नै पहल हुनुपर्ने बताए । कार्यक्रम लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष हरिराम पौडेलको अध्यक्षतामा भएको थियो ।