चितवनमा संविधान दिवस प्रभातफेरी गरि मनाईयो

राजु थापा

चितवन : संविधान जारी भएको ४ वर्ष पुरा भएको अवसरमा चितवनमा पनि शुक्रवार प्रभातफेरी सहित शुभकामना आदान प्रदान गर्दै मनाईरहेको छ । जिल्ला समन्वय समिति चितवनको समन्वयमा शुक्रवार विहान नारायणगढको लायन्सचोकबाट प्रभात फेरी गरिएको हो । चितवनका प्रदेश सांसदहरु , जिल्लाका सरकारी निकायका कर्मचारीहरु, प्रहरीको ब्याण्डबाजा, प्रहरी, नेपाल आर्मी, महिला अधिकारकर्मीहरु, उधोगी ब्यवसायीहरु ,डिप्रोक्स लधुवित्तका कर्मचारी सहित आम सर्वसाधारणको सहभागितामा लायन्सचोक, शहिदचोक, पुल्चोक, लिलाचोक हुदै नारायणी कला मन्दिरमा आएर अन्र्तक्रिया गरि समापन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ३ का सामाजिक विकास समितिका सभापति घनश्याम दहालले ठुलो त्याग र बलिदानले प्राप्त गरेको संविधानको रक्षा गर्ने हामी सवैको कर्तब्य भएको बताउनु भयो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीको सभापतित्व रहेको कार्यक्रममा प्रदेश सांसदहरु कृष्ण खनाल, विजय सुवेदी, कृष्ण भुर्तेल, रामलाल महत्तो लगायतको सहभागिता रहेको थियो । निति र नियम पालन गर्ने संविधान दिवस मनाईरहेको कार्यक्रममा भने चितवनमा पोटफोलियो नमिलेको भन्दै सांसद कन्चन खनालले कार्यक्रममा आसन ग्रहणनै नगरि कार्यक्रम स्थलबाट बाहिरिनु भएको थियो । जिल्ला समन्वय समितिले संचालनको समेत जिम्मा लिएको कार्यक्रममा नेपाल सरकारले तोकेको वर्णानुक्रमलाई बेवास्ता गर्दै आसन ग्रहण गराईएको थियो । संविधान दिवस मनाउने क्रममा शुक्रवार साँझ चौविसकोठी भरतपुरमा दिपावली समेत गरिएको थियो ।