मानव धर्म सेवा समितिद्वारा आयोजित रक्तदानमा ४४ जनाले दिए रगत

चितवन । चितवनको नारायणगढमा रहेको नेपाल मानव धर्म सेवा समिति चितवन हंशकीर्ति आश्रमले रक्तदान कार्यक्रम गरेको छ ।
संविधान दिवस, अन्तर्राष्ट्रिय विश्व शान्ति दिवस तथा मानव धर्मका प्रणेता सतपाजी महाराजको ६९औँ जन्मोत्सको अवसर पारेर शुक्रबार खुला रक्तदान कार्यक्रम गरिएको हो । सो कार्यक्रममा ६ जना महिला सहित ४४ जनाले रक्तदान गरेका नेपाल मानव धर्म सेवा समिति प्रदेश नम्बर ३ को हेटौंडा क्षेत्रका क्षेत्रीय अध्यक्ष थीरप्रसाद धितालले जानकारी दिए ।
हरेक वर्ष असोज ३ गते आफूहरुले रक्तदान कार्यक्रम गर्दै आइरहेको धितालले बताए । सतपाजी महाराजको जन्मोत्सवको अवसर पारेर असोज २ गतेदेखि ४ गतेसम्म देशैभरि विविध कार्यक्रमहरु आयोजना भइरहेको धितालको भनाइ छ । जन्मोत्सवकै अवसर पारेर असोज ४ गते जन्मोत्सव विशेष कार्यक्रम गरिने उल्लेख गर्दै धितालले सो कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी विशेष अतिथि रहने बताए ।
शुक्रबार भएको रक्तदान कार्यक्रममा अक्सफोर्ड कलेजका प्रिन्सिपल हरि भण्डारीले पछिल्लो पुस्ताहरुमा आध्यात्मिक चेत हराउँदै गएको बताए । आध्यात्मिक चिन्तन नहुँदा नकारात्मक विषयवस्तुमाथि बढी समय खर्चिने गरेको उल्लेख गर्दै भण्डारीले आध्यात्मवादले मानिसलाई विवेकी बनाउने बताए । हंशकीर्ति आश्रमकी संरक्षक महात्मा रमा वाइजीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति चितवनका अध्यक्ष विनोद पौडेलले मन्तव्य राखेका थिए ।