संविधानको मर्म र भावनालाई आत्मसाथ गर्नुपर्छ : मेयर वन

रत्ननगर : रत्ननगर नगरपालिकाका मेयर नारायण वनले संविधानको मर्म र भावनालाई आत्मसाथको गर्नुको विकल्प नरहेको बताएका छन । संविधान दिवसको अबसरमा शुक्रवार विहान आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधानको मर्म र भावनालाई आत्मसाथ गर्दै अगाडि बढनुको विकल्प नहरेको बताए ।

उनले संविधानले दिएको अधिकारको प्रयोग गरी नगर र नगरवासीको समृद्धिमा क्रियाशिल रहने प्रतिबद्धता समेत जनाए । नेपालमा विश्ककै उत्कृष्ट संविधान जारी रहेको भन्दै उनले संविधानलाई आवश्यकताको आधारमा परिमार्जन गर्दै लैजान सकिने तर्फ गरे ।

संविधान गतिशिल दस्तावेज हो उनले भने यसलाई आवश्यकताको आधारमा थपघट गर्न सकिन्छ । संविधान मान्दिन भन्न पाईदैन मेयर वनले भने आत्मसाथ गरेर कर्तव्य पालना गर्नुपर्छ । संविधान सानो बलबुताले आर्जेको बस्तु होइन उनले भने यसलाई जलाउने र मान्दिन भन्ने अधिकार कसैलाई छैन ।

उनले संविधानले जनताको मौलिक अधिकार स्थापित गरेको भन्दै मेयर वनले यही अधिकारलाई टेकेर हुँदा खाने जनताको आर्थिक उन्नतीमा लाग्ने बेला आएको बताए । कार्यक्रममा मेयर वनले नगरपालिकाको कार्यसम्पादनमा क्रियाशिल भएर लाग्न कर्मचारीहरुलाई आग्रह गरे ।

उनले संविधान दिबसको अबसरमा शुक्रवार र शनिवार दुई दिन घरघरमा दिवापली गर्न नगरवासीलाई आग्रह गरेका छन । हामी सबै मिलेर नगरपालिका बनाउने हो उनले भने तपाईहरु र हामी जनप्रनिनिधि मिलेर काम गर्नुपर्छ ।

कार्यक्रममा उपमेयर विमला दुवाडी,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा,मानब अधिकारकर्मी ज्वाला पुरी वन,कर्मचारीको तर्फवटा वडा नं ५ का वडा सचिव शंकरबहादुर गिरी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,नगरपालिकाका कर्मचारी,पत्रकार लगायतका सहभागिता रहेको थियो । संविधान दिवसको अबसरमा आजै बेलुका साढे छ बजे दिपप्रज्वलन गर्ने जनाएको छ ।