संविधान दिवस भव्यवताका साथ मनाइँदै, घरघरमा राष्ट्रिय झण्डा फहराउन आह्वान

काठमाण्डौं : नेपालको संविधान जारी भएको आज चार वर्ष पुरा भएको छ। आज सरकारले संविधान दिवसका अवसरमा सार्वजनिक विदा दिएको छ भने संविधान दिवस भव्य रुपमा मनाउने भएको छ । सरकारले संविधान जारी भएकै दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुख, मन्त्रिहरु, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

त्यस्तै सरकारले संविधान दिवस धुमधामसँग मनाउन आमनागरिकलाई आह्वान गरेको छ । आज घरघरमा राष्ट्रिय झण्डा फहराउन पनि सरकारले आग्रह गरेको छ ।

काठमाडौँ महानगरपालिकाले संविधान दिवसका दिन टुँडिखेलमा आउने नागरिकको लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायतका सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रमस्थलको अन्य व्यवस्थापनको काम र मञ्च सजावटको काम पनि कामपाले गरेको छ ।

प्रत्येक वडा कार्यालयबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायतको सहभागितामा सांस्कृतिक झाँकीसहितको र्‍याली कार्यक्रमस्थल सैनिक मञ्चसम्ममा ल्याउने तयारी गरेको पनि कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

सहभागीलाई राष्ट्रिय झण्डासहित र्‍यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई १०० थान राष्ट्रिय झण्डा उपलब्ध गराउनेलगायतका काम पनि कामपाले गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरवासीलाई आफ्नो घरमा राष्ट्रिय झण्डा फहर्‍याउन पनि आग्रह गरेको छ ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन तथा दिवसको उल्लास नागरिकस्तरमा पुर्‍याउन राष्ट्रिय झण्डाको उपयोगलाई प्रवर्द्धन गरिने भएको छ ।

दिवसको अवसरमा सबै मातहत कार्यालयमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली हुनेछ भने यस कामका लागि नगरवासीलाई पनि आग्रह गरिएको छ ।