नेपालको संविधान विश्वकै उत्कृष्ट, कार्यान्वयन फितलो

चितवन : नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएपनि व्यवहारिक रुपमा यसको कार्यान्वयन फितलो भएको कानुन व्यवसायीहरुले बताएका छन् । चितवनको भरतपुरमा संविधान दिवसको अवसरमा आयोजित संविधानको चार वर्ष र यसको कार्यान्वयन विषयक विचार गोष्ठीमा कानुन व्यवसायीहरुले नेतृत्व तहको कमजोरीका कारण संविधान कार्यान्वयनमा वाधा पुगेको बताएका हुन् । साधारण मान्छेमाथि कानुन थुपार्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनीहरुले समाजलाई स्थिर बनाउन कानुनको समान प्रयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा चितवन जिल्ला अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलले देशको नागरिकले कानुन मान्दिन भन्न नपाउने बताए । पछिल्लो समय नागरिकले कानुन मान्दिन भनेर विभिन्न आन्दोलन गरिरहेको उल्लेख गर्दै रावलले राज्यभित्र बसेपछि कानुन सबैले मान्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा अधिवक्ता जगन्नाथ भण्डारीले नेपालको संविधान र यसको कार्यान्वयन पक्षमा देखिएको चुनौतीको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । संविधान जारी गर्दा देखिएको चुनौती भन्दा पनि कार्यान्वयनमा त्यो भन्दा बढी चुनौती देखिएको भण्डारीको भनाइ थियो । अधिवक्ता जगन्नाथ भण्डारीको कार्यपत्रमाथि चितवन जिल्ला अदालत बार एशोसिएसनका पूर्व अध्यक्ष जगन्नाथ पौडेल र धर्मराज आचार्यले टिप्पणी गरेका थिए । जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सूर्यबहादुर बोहोराले स्वागत मन्तव्य राखेका थिए ।