भरतपुर खानेपानी वोर्ड १२ औँ बर्षमा, ९ करोड बढी पानी महसुल (भिडियो)

चितवन:  चितवनको भरतपुरमा रहेको भरतपुर खानेपानी व्यवस्थापन बोर्ड चितवनले महानगरमा स्वच्छ पिउने पानी वितरण उल्लेख सफलता हासिल गरेको गरेको छ । वोडले पानी महसुल मार्फत साढे ९ करोड रुपैयाँ बढी खानेपानी राजश्व समेत संकलन गर्न सफल भएको वोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले जानकारी दिए ।

बोर्डको आफ्नो १२ औँ बार्षिकउत्सवमा दाहालले महानगर क्षेत्रमा ४७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराएको र हालसम्म २८ हजार ग्राहक रहेको बताए ।
यस्तै वोर्डलाई जनप्रतिनिधीहरुले महानगरका सबै क्षेत्रमा पुग्नेगरी सेवा बढाउन सुझाव दिएका छन् । बोर्डले हाल भरतपुर महानगरको १ देखि १६ र २२ नम्बर वडामा खानेपानी वितरण गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य एवम् कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले महानगरका सबै वडाहरुमा सेवा बिस्तार गर्न सुझाव दिए ।
भरतपुर महानगरको सुगम तथा दुगर्म सबै भेगमा खानेपानी बितरणको सेवा पुर्याउन उनले बोर्डको ध्यानाकर्षण गराए। ‘प्राकृतिक स्रोतको अन्तरपुस्ता समन्वयिक प्रयोगका आधारमा सबै भेगमा सेवा पुर्याउँ, स्वच्छ खानेपानी जनताको मौलिक अधिकार पनि हो’ पोखरेलले भने ।
समिति सभापति पोखरेलले संसारमा ३ प्रतिशत पानी मात्र पिउन योग्य रहेको अवस्थामा यस्लाई भावी पुस्ता सम्म ब्यबस्थित वितरण ब्यवस्थापन गर्नु चुनौतीपूर्ण कार्य रहेको उल्लेख गरे । यो चुनौतीलाई सुझवुझपूर्ण ढंगले सामाना गरेर अघिबढ्नुपर्ने बताए ।  कार्यक्रमका सभापति एवम् भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सिमित श्रोत साधनका बाबजुद भरतपुर खानेपानी व्यवस्थापन वोर्डले सेवा प्रवाह गरेका बताए । स्रोत र साधनको बृद्धि गर्दै जनतामा सेवा बिस्तार गर्दै जाने दाहालले उल्लेख गरे।
कार्यक्रममा प्रदेश सभा सदस्य विजय सुवेदी, घनश्याम दाहाल, मिलनबावु श्रेष्ठ, गिता वाग्ले र रिना गुरुङले सेवा बिस्तार संगसंगै गुणस्तरियतामा सदैव सचेत रहन सुझाव दिए ।
नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले खानेपानी वोर्ड राजनीति भन्दा उठेर काम गर्नुपर्ने बताए ।  कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, संघिय खानेपानी तथा ढल विकास आयोजना कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद काफ्ले, पूर्व वोर्ड सदस्य रामराज पौडेल, उपभोक्ताका तर्फबाट मदन घिमिरेले शुभकामना मन्तब्य राखेका थिए ।
वोर्डले विभिन्न १८ स्टेशनमा ३१ वटा डिपबोरिङ्ग मार्फत दैनिक २ करोड १५ लाख लिटर पानी उत्पादन र वितरण गरिरहेको छ ।
सोही अवसरमा भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा खानेपानी सम्बन्धी समस्या, हाल सम्म गरिएका उपलब्धी तथा भावि कार्ययोजनाका बिषयमा समेत चर्चा गरिएको थियो ।
कार्यक्रमका अवसरमा उत्कृष्ट संस्थागत ग्राहकमा शसस्त्र प्रहरी बल आँपटारीलाई, निजी ग्राहकमा भरतपुर १० निवासी रितु कुँवरलाई र खानेपानी व्यबस्थापन तथा वितरणका लागि आबश्यक जग्गा उपलब्ध गराउने उपभोत्तmाहरुलाई कदर पत्रले सम्मान गरिएको थियो ।