सिन्धु विकास बैंक विकासचोकमा

चितवन : सिन्धु विकास बैंकले भरतपुरको विकास चोकमा शाखा विस्तार गरेको छ । भरतपुर–५ र ७ नम्बर वडालाई लक्षित गरी शाखा विस्तार गरिएको हो । शहरीकरणतर्फ उन्मुख भइरहेको विकास चोक क्षेत्रमा विगतमा बैंक सञ्चालनमा थिएनन् । मंगलबार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले शाखाको उद्घाटन गरेका हुन् ।

“घरदैलोमानै बैंक सेवा लिने वातावरण बनेको छ”, प्रधानले भने, “उत्पादनमुलक क्षेत्रमा लगानी गर्न स्थानीयले कर्जा पाउनेछन् ।” उनले उद्यम गर्न कर्जा लिन व्यवसायीले निकै सास्ती खेप्नुपरेको बताउँदै भने, “सिन्धु विकास बैंकले सहज रुपमा उत्पादनमुलक क्षेत्रमा कर्जा दिनेछ ।”

कृषि, पर्यटन, स्वासथ्य र शिक्षा क्षेत्रमा लगानीको वातावरण रहेकाले बैंकले सोही अनुसारका नीति अवलम्ब गर्ने विश्वास राखे । विकासचोक टोलसुधार समितिका अध्यक्ष सूर्य भट्टराईले सर्वसाधरण तथा व्यवसायी बैंकले शाखा विस्तार गरेकोमा उत्साहीत बनेको बताए । नेफ्स्कुन पूर्व सञ्चालक नवराज सापकोटाले नजिकै रहेका सहकारीहरु समेत लाभान्वित हुने बताए । चितवनमा यसअघि टाडी र पर्सामा शाखा विस्तार भइसकेका छन् ।

५ जिल्लामा १९ शाखा सञ्चालन गरेको सिन्धु विकास बैंकले चितवनमा शाखा विस्तार कार्यलाई अगाडी सारेको छ । बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले छिटै चितवनका थप ३ स्थानमा शाखा विस्तार गरिने बताए । उनका अनुसार नारायणगढ, चनौली र लाहुरे चोकमा शाखा विस्तार गर्ने योजना छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले प्रदेश–३ स्तरीय सबल सक्षम बैंकका रुपमा विकास गर्न लागिपरेको बताए । उनका अनुसार बैंकले हालसम्म २ अर्ब ६० करोड निक्षेप संकलन गरेको छ भने २ अर्ब ३० करोड कर्जा प्रवाह गरेको छ । बैंकको प्रधान कार्यालय सिन्धुपाल्चोकको बाह्रविसेमा छ । बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, लगायतका क्षेत्रमा शाखा कार्यालयहरु छन् । ०६७ साल भदौ २२ गते स्थापना भएको बैंक विगतमा ग्रामीण क्षेत्रमा केन्द्रीत थियो ।