अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा शान्तिवार्ता रद्द

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति वार्ता रद्द गर्नुभएको छ ।

ट्रम्पले ट्वीट गर्दै आइतबार क्याम्प डेभिडमा तालिवानका वरिष्ठ नेताहरूसँगको तय भएको वार्ता रद्द भएको जनाउनुभएको हो ।

अघिल्लो साता काबुलमा भएको हमलामा एकजना अमेरिकी सेनाको पनि ज्यान गएको तालिवान समूहले स्विकारेपछि ट्रम्पले बैठक स्थगित गर्नुभएको हो । तालिवानसँगका अमेरिकी वार्ताकार जालमाई खलिलजादले गत सोमबार तालिबानसँग शान्ति सम्झौता भएको घोषणा गरेका थिए ।

अफगानिस्तानबाट सयौँ सैनिक फिर्ता गर्न अमेरिका–तालिवान सहमति प्रस्तावित सम्झौता अनुरूप अमेरिकाले २० साताभित्र ५ हजार ४ सय सैनिक अफगानिस्तानबाट फिर्ता लैजानुपर्ने थियो । यद्यपि खलिलजादले यसको अन्तिम निर्णय ट्रम्पले नै गर्ने बताएका थिए । अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सेना कार्यरत छन् ।

तालिबानले बिहीबार जिम्मेवारी लिएको कार बमले काबुलमा एक अमेरिकी सेनासहित १२ जनाको ज्यान गएको थियो । तालिवानसँग अमेरिकाले गर्ने वार्ताले अफगानिस्तानमा दैनिक हुने हिंसा र सर्वसाधारण मारिने क्रमको अन्त्य नहुने देखाएको आशंका गरिएको छ ।