नेपालद्वारा श्रीलंकासामू १६० रनको लक्ष्य प्रस्तुत

काठमाडौ : एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाली टोलीले घरेलु टोलीलाई १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध ४२ ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन मात्रै बनाउन सक्यो ।

श्रीलंकाका बलरहरु हावी हुँदा नेपाली ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् । यद्यपि ओपनिङ ब्याट्सम्यान रित गौतम र कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे ।

रितले ८५ बलमा ४ चौकाको मद्दतमा ५४ रन बनाएका थिए भने रोहितले ८० बलमा ४७ रन बनाए । यस्तै, राशिद खानले १५ रन बनाए भने हरि बहादुर चौहानले १२ रन मात्रै बनाउन सके ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ९ ओभर खेलिरहँदा बर्षा भएपछि खेल ४२ ओभरमा घटाइएको थियो ।

नेपालविरुद्ध घरेलु टोलीका बलरहरुमा दिलसान मुघुसंख र नवोद परनाभिथानाले समान ३–३ विकेट लिए । श्रीलंका केही बेरमा ब्याटिङमा उत्रिँदैछ ।