चरम राजनीतिले धरासायी बन्दै शहीद स्मृति बहुमुखी क्याम्पस (भिडियो)

रत्ननगर : रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पस चरम राजनीतिका कारण धरासायी बन्दै गएको छ । क्याम्पस सञ्चालक समिति,क्याम्पस प्रमुख, प्राध्यापक तथा कर्मचारीहरुको राजनीतिका कारण शैक्षिक धरोहरको रुपमा स्थापित सो क्याम्पस धरासायी बन्दै गएको हो । राजनीतिक हस्तक्षेपका कारण सञ्चालक समिति र प्रशासनले विद्यार्थी संगठनका माग नसुन्ने अबस्था छ । क्याम्पस सुधारका लागि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले विभिन्न माग राख्दै प्रशासन शाखामा लगाएको ताला अझै खुल्न सकेको छैन ।
ती दुई विद्यार्थी संगठनले ११ वुँदे माग राख्दै गत फागुन २८ गते प्रशासन भवनमा ताला लगाएका थिए । तर, अहिलेसम्म ताला खुलेको छैन । समस्या समाधानका लागि कुनै पहल भएको पाइँदैन । पछिल्लोपटक क्याम्पस प्रमुखमा नियुक्त भएकी राधा बालिका र सञ्चालक समिति एकलौटी ढंगबाट चलेको विद्यार्थी संगठनको आरोप छ । क्याम्पससमक्ष माग राखेको लामो समयसम्म पनि वार्तामा समेत नबोलाएको भन्दै विद्यार्थी संगठनले बिहीबार पत्रकार सम्मेलन गरेर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै, राजीनामा दिइसक्दासमेत पुनः प्रमुखकै हैसियतमा काम गर्दै आएको भन्दै प्रमुख बालिकाको राजीनामा विद्यार्थी संगठनले गरेका छन् । स्थायी, करार, पूर्णकालीन सेवामा रहेका प्राध्यापक वा कर्मचारीहरु क्याम्पस समयमा अन्यत्र गई काम गरेको भन्दै यस्तो कार्य रोकिनुपर्ने, क्याम्पस र त्रिविको विधानविपरीत नियुक्त गरिएको प्राध्यापक र कर्मचारी खारेज गर्नुपर्ने, छात्रवृत्ति रोकिएको भन्दै सुचारु गर्नुपर्ने माग अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको छ ।
अनेरास्ववियु क्रान्तिकारी इकाई अध्यक्ष अमृत वस्तीले निजी क्याम्पसमा लगानी गरी यस क्याम्पसको समितिमा रहेकालाई तत्काल हटाउनुपर्ने, छात्रालाई स्यानिटरी प्याड वितरण गर्नुपर्ने, नयाँ पाठ्यक्रमअनुसारको पुस्तक पुस्तकालयमा व्यवस्था गर्नुपर्ने, आर्थिक अपचलन गरी नीतिगत भ्रष्टाचार क्याम्पस प्रमुखबाट देखिएकाले त्रिविबाट आयोग बनाई छानबिन गर्नुपर्ने बताए । क्याम्पस सञ्चालक समितिको समयावधि सकिएपछि क्याम्पस प्रमुखले घरमै म्याईन्यूट लगेर आफूखुसी रकम प्रयोग गर्दै आएको वस्तीले बताए ।
“क्याम्पसको आफ्नै खाता हुन्छ । तर, झोलाबाट खर्च चलाइएको छ”, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष वस्तीले भने, “समितिको म्याद सकिएको अवधिदेखि करिब डेढ करोड बढी प्रमुखले आफूखुसी प्रयोग गरेका छन्, यथाशीघ्र रोकियोस् ।” अनेरास्ववियु शहीद स्मृति बहुमुखी क्याम्पसका अध्यक्ष सरोज तिमल्सिनाले क्याम्पसलाई राजनीतिको थलो बनाउन नहुने भन्दै तत्काल वार्तामार्फत माग सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
“क्याम्पस सुधारका लागि हामीले २०७२ सालदेखि माग राख्यौं । तर, सुनुवाइ भएन”, तिमल्सीनाले भने, “ताला लागेको ६ महिनामा एकपटकसमेत वार्ताका लागि क्याम्पस प्रमुखले पहल गरेनन्, अब धैर्यता गर्न सक्दैनौं, आन्दोलनमा जान्छौं ।” क्याम्पस प्रमुख राधा बालिकाले भने आफूहरु आर्थिक हिनामिना नभएको, मनलाग्दी प्राध्यापक, कर्मचारी नियुक्त नगरेको बताइन् । ताला लगाएपछि ५ पटकसम्म औपचारिक वार्ता भएको उनले बताइन् ।
फागुनदेखि अहिलेसम्म कसैलाई पनि तलब खुवाउन नपाइएको बालिकाको भनाइ छ । विद्यार्थी भर्ना, फर्म शुल्कबाट प्राप्त रकम खातामा जम्मा भएपनि खाताबाट पैसा नझिकिएको उनले बताइन् । “विद्यार्थीको मागप्रति हामी गम्भीर छौं”, क्याम्पस प्रमुख बालिकाले भनिन्, “वार्ताका लागि कयौंपटक पहल भएको छ ।”
क्यापस प्रमुख बालिकाले आफूले प्रमुखबाट राजीनामा दिएको स्वीकार गर्दै स्वीकृत भने नभएको बताइन् । सो क्याम्पसमा कुनैबेला २ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्थे । तर, अहिले करिब १ हजार ३ सयको हाराहारीमा विद्यार्थी छन् । शहीद स्मृति क्याम्पसमा बीएफए, बीबीए, बीबीएम, बीएसई, बीएड पढाइ हुँदै आएको छ ।