जलदेवी सामुदायिक वनमा ‘जिप लाइन’, ५ सयमै हावामा उड्न पाइने ! (भिडियो)

केदार शर्मा
चितवन :  चितवनका बासिन्दाहरू प्याराग्लाइडिङ, बञ्जी जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब धेरै टाढा धाउनु नपर्ने भएको छ ।

भरतपुरस्थित आँपटारीमा रहेको जलदेवी सामुदायिक वनले वाईल्ड वनडरस प्रालिसँगको सहकार्यमा आगामी असोजबाट सञ्चालनमा आउने गरी ‘जिप लाइन’ को काम गरिरहेकाे छ ।

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै सामुदायिक वनले २० लाख पर्यटन भित्राउन सहयोग पुग्ने उद्देश्यले ‘जिप लाइन’ निर्माण गरेकाे सामुदायिक वनका अध्यक्ष केशव बहादुर थापाले बताउनुभयाे ।

पर्यटनमा काम गर्दै आएको उक्त सामुदायिक वनले ‘जिप लाइन’ सञ्चालन गरेपछि चितवन आउने पर्यटनहरूको बसाई लम्बिने समेत पर्यटन व्यवसायीको भनाई रहेको छ ।

युवाहरूलाई स्वरोजगार बनाउँदै पर्यटन वर्ष २०२० लाई सफल बनाउनको लागि सामुदायिक वनको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत लगानीमा ‘जिप लाइन’ निर्माणको काम भएको हो ।

सामुदायिक वन र वाईल्ड वन्डरस नेपालको संयुक्त लगानीमा निर्माण भइरहेको ‘जिप लाइन’बाट आउने कुल नाफा बापतको १० प्रतिशत रकम वनलेनै प्रयोग गर्ने अध्यक्ष थापाको भनाई छ ।

नेपाल आउने पर्यटकले औधी रुचाउने ‘ जिप लाइन’ भने नेपालका सामुदायिक वनभित्र पहिलो भएको सञ्चालक राजकुमार श्रेष्ठकाे दाबी छ । श्रेठका अनुसार वनभित्र एक रुखबाट आर्को रुख सम्म ७ वटा ‘ जिप लाइन’ निर्माण भइरहेको छ ।

कम्मरमा विशेष प्रकारको डोरीसहितको आर्नेसमा बसी पर्यटकले चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइट’ गर्छन् । यसरी खेल्दा करिब एक मिनेट हावामा उडेको महसुस हुन्छ ।

फलामको लट्ठा (डोरी) मा घिर्नी जोडेको हुन्छ । त्यही घिर्नीमा विशेष प्रकारको फित्तामा झुण्डिएर पर्यटक माथिबाट तल झर्छन् । हावाको वेगमा प्रकृतिको आनन्द लिनका लागि यो खेल अति महत्त्वको छ ।

जलदेवी जिपलाइन परियोजनाअन्तर्गत यहाँ रु ७५ लाख लगानी भइसकेको र अझै निर्माणका क्रममा रहेकाले करिब रु एक करोड लाग्ने अनुमान गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

उक्त परियोजनाको निर्माण कार्य गत साउनदेखि सुरु गरिएको थियो । यहाँ साना बालबालिकाका लागि छुट्टै जिपलाइन छ ।

यहाँबाट दैनिक तीन सय भन्दा बढीले सेवा लिन सक्ने सञ्चालक श्रेष्ठले बताउनुभयो । सामान्य ब्यत्तिले पनि सजिलैसँग ‘ जिप लाइन’को मजा लिन सकुन भन्दै हाललाई टिकट मूल्य ५०० तोकिएको छ । थापाका अनुसार निम्न वर्गका ब्यत्तिहरुले पनि सर्बसुलब र सहज रूपमा चढ्न सक्ने छन् ।