दाना, अण्डा कुखुरा वितरक संघद्धारा प्रदेश ट्राफिक प्रमुखको स्वागत तथा विदाई (भिडियो)

चितवन : नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेलले पोल्ट्री व्यवसायीहरुले ट्राफिक नियमलाई पालना गरेर अगाडी बढ्ने बताए । आज (विहिबार) भरतपुरमा भएको प्रदेश नम्बर तीनका ट्राफिक प्रमुखको विदाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले संघको कमीकमजोरीलाई औँल्याउन ट्राफिक प्रहरीलाई आग्रह समेत गरे ।

 

हाल प्रदेश ट्राफिक प्रमुख भएर जिम्मेवारी समाल्न प्रकाश रानाभाट आएका हुन्। त्यस्तै यस अघि कार्यरत नविनराज राईको नवलपरासी सरुवा भएको छ । सरुवा भई जान लाग्नुभएका प्रहरी उपरिक्षक राईले आफ्नो कार्यकाल फिल्डमा गएर काम गर्नुभन्दा पनि कार्यालय भवन खोज्दैमा समय वितेको बताए । उनले सडकमा निस्केपछि नेपालीलाई हतार हुने व्यङ्ग्य गर्दै ट्राफिक शिक्षा सबैले बुझ्न जरुरी रहेको धारणा राखे । उनले चितवनले दिएको स्नेह कहिले नभुल्ने भन्दै चितवन प्रति आभार व्यक्त गरे ।

प्रदेश नम्बर तीनको ट्राफिक प्रमुखमा आउनुभएका रानाभाटले शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको कार्यमा सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाए । सवारी चालकले मात्र नभै सबै नागरीकले ट्राफिक नियमको पालना गर्न उनले आग्रह गरे ।

ट्राफिक व्यवस्थापनमा सबैको साथको आवश्यकता रहेको बताउँदै आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनलाई अब्बल बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए । नेपाल दाना, अण्डा कुखुरा वितरक संघ केन्द्रिय कार्यालय चितवनको आयोजनामा भएको विदाई तथा स्वागत कार्यक्रमका अध्यक्ष तेज नारायण पाण्डेले ट्राफिक व्यवस्थामा समन्वय गर्न संघ तयार रहेको बताए।