मैलाकालिका खानेपानी आयोजना निर्माणकार्य अन्तिम चरणमा

चितवन : मौलाकाली खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गैडाँकोट नगरपालिका १ रहेको मौलाकालिका मन्दिर नजिकै निर्माणाधिन आयोजना आगामी असोज महिना भित्रमा सम्पन्न हुने भएको हो ।
करिब १ करोड रुपैयाँको लगानीमा बन्न लागेको आयोजनाको टंकीको क्षमता १ लाख लिटर रहेको मौलाकालिका धार्मिक सेवा समितिका सहसचिव भुमिश्वर शर्माले जानकारी दिनुभयो । आयोजना निर्माणका लागि प्रदेश सरकारले हाल सम्म ६० लाख रकम प्रदान गरिसकेको छ । साथै बाँकी रकम अब काम सम्पन्नताको आधारमा प्राप्त हुने सहसचिव शर्माले बताउनुयो ।
टंकीमा पानी गैडाकोट नगरपालिका १ धारापानीमा बोरिङबाट लैजाने व्यवस्था गरिएको छ । जसका लागि धारापानीदेखि माथि टंकी सम्म २ किलोमिटरको दुरीमा जिआई पाइप बिच्छाइएको छ । हाल मन्दिरमा उत्तरदिशा तर्फको गौचरनबाट ५ वटा टंकी मार्फत खानेपानीको आपूर्ति हुदैं आएको छ । नयाँ टंकी निर्माण सँगै मन्दिरमा खानेपानीको राम्रो सुविधा हुनुका साथै दर्शनार्थीहरुलाई सहज हुने भएको छ । मौलाकालिका मन्दिरमा दैनिक १ हजार ५ सय सम्म भक्तजन आउने गरेकाछन् । नवलपरासी, चितवन, मकवानपुर, धादिङ, तनहुँ लगाएतका जिल्ला र भारतका बिभिन्न स्थानबाट दर्शनका लागी भक्तजनहरु गरेकोमा मन्दिर आउने पर्यटक मध्य पाँच प्रतिशत पर्यटक भारतीय रहेको मौलाकालिका धार्मिक सेवा समितिका सहसचिव भुमिश्वर शर्माले बताउनुभयो ।
बिशेषगरी नेपालीहरुको महान पर्व बडा दशैं, चैते दशैं तथा नयाँ बर्षको अवसरमा भक्तजनको बढी घुइँचो हुने गर्दछ । यसैगरी मन्दिर व्यवस्थापन समितिले टाढाबाट आउने भक्तजनका लागि खाना र बस्नको निशुल्क व्यवस्था गरेको छ । जसले गर्दा धार्मिक पर्यटकको सख्यामा थप वृद्धि हुने अपेक्षा गरिएको छ ।