विश्वकप छनोट – कुवेतलाई टक्कर दिने नेपालको दाउ

काठमाडौं :  फिफा विश्वकप छनोट अन्तर्गत पहिलो पटक सिधै दोस्रो चरण खेल्ने अवसर पाएको नेपालको राष्ट्रिय पुरुष फुटबल टिमले आज (बिहिबार) कुवेतसँग खेल्दै सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोटको सुरुवात गर्दैछ ।

यसअघि पहिलो चरण खेलेर मात्रै नेपाल दोस्रो चरण पुग्ने गरेको थियो । एएफसीले अन्तिम ३८ टिमलाई सिधै दोस्रो चरण खेल्ने व्यवस्था मिलाएपछि नेपालले पहिलो पटक सिधै दोस्रो चरण खेल्न पाएको हो ।

नेपालले पहिलो खेल बिहीबार कुवेतविरुद्व खेल्दैछ । कुवेतविरुद्व हुने अवे खेल जविर अल अहमेद इन्टरनेश्नल मैदानमा रातको पौने ११ बजे सुरु हुनेछ । नेपाल समूह बी रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताईपे रहेका छन् । नेपालले सबै टिमसंग होम एण्ड अवेका आधारमा खेल्नेछ ।

नेपाल छनोटको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा हुनेछ । नेपालको तुलनामा कुवेत बलियो टिम हो । कुवेत शारीरिक तथा प्राविधिक रुपमा निकै बलियो छ । उसका खेलाडीलाई उचाईले समेत साथ दिनेछ ।

नेपाली टिमलाई कुवेतमा तापक्रमको पनि समस्या हुन सक्छ । नेपालले कुवेतमा ४५ डिग्री तापक्रमकाबीच अभ्यास गर्दै आईरहेको छ ।  पछिल्लो नतिजालाई हेर्दा कुवेतका अगाडी नेपालको प्रर्दशन कमजोर छ । कुवेतविरुद्व नेपाले पछिल्लो समय चैतमा दुई मैत्रिपुर्ण खेल खेलेको थियो ।

चैत पहिलो साता भएको खेलमा पहिलो खेल गोलरहित बराबरी सकिएको थियो । दोस्रो खेलमा भने नेपाल १–० गोल अन्तरले पराजित भएको थियो । कुवेतले गरेको एक गोल समेत पेनाल्टीमा सम्भव भएको थियो ।

तर त्यसयता कुवेत टिमले निकै राम्रो तयारी गरेको छ । युरोप भ्रमणमा रहेको उसले मैत्रिपुर्ण खेलमा पनि धेरै सहभागीता जनाएको थियो । त्यसको विपरित नेपालले एक मात्र मैत्रीपूर्ण म्याच खेल्यो ।

मलेसियाको लिग च्याम्पियन जोहोर दारुल टाजिमसंगको खेलनै नेपाललाई अनुभव बटुल्ने अवसर बन्यो ।  मुख्य प्रशिक्षक जोहान कालिनले फिफा विश्वकप अघि टिमलाई फिटनेसमा विशेष ध्यान दिएका थिए । सोही कारण उनले नियमित कप्तान विराज महर्जनलाई टिम बाहिर राखे । उनको विकल्पको रुपमा टिमको कप्तानी किरण चेम्जोङले गर्नेछन् ।

कालिनले यसअघि फरवार्ड बिमल घर्ति मगरलाई पनि फिटनेसको कारण देखिउँदै टिम बाहिर राखेका थिए । प्रशिक्षक कालिनले खेलाडीलाई तयारीका लागि भन्दै ४ दिन अघिनै कुवेत लगेका थिए ।

हेड टु हेड

तुलनात्मक रुपमा बलियो रहेको कुवेत र नेपालबीच धेरै खेल त भएका छैनन् । जति भएका छन्, कुवेत बलियो देखिन्छ । हेड टु हेडको आधारमा खेलिएका ६ खेलमा कुवेत ५ मा सफल भएको छ । एक खेल बराबरीमा सकिएको छ ।

नेपालले सन् १८८२ नोभेम्बरमा भएको एसियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो । सो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
दोस्रो भेट सन् १९८६ को एसियन गेम्समा भएको थियो । नेपाल ५–० गोल अन्तरले पराजित भयो ।

सन् १९९४ मा भएको एसियन गेम्समा नेपालले कुवेतसँग सबैभन्दा खराब नतिजा निकाल्यो । नेपाल ८–० गोल अन्तरले पराजित भएको थियो ।  सन् २००० मा भएको एसियन गेममा कुवेतसँग नेपाल ५–० गोल अन्तरले पराजित हुन पुग्यो ।

लगातार चार हारको श्रृङ्खला सन् २०१९ मा रोकियो । जोहान कालिनको नेतृत्वमा नेपालले चैत पहिलो साता कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो । योनै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो ।

कालिनले पहिलो विदेश यात्रामा ५ खेलाडीलाई राष्ट्रिय टिमबाट डेब्यु गराएको थिए । पहिलो खेलमा बराबरी खेलेको नेपाल दोस्रो खेलमा १–० ले पराजित भयो । कुवेतले पेनाल्टीमा गोल गर्दै नेपाललाई निराश बनाएको थियो ।