तीजको दिनमा पनि सरसफाईलाई निरन्तरता दिदै वे ग्रुप, डेंगु फैलाउने लामखुट्टे खोज्दै ग्यारेजमा

चितवन : सरसफाईलाई ध्यानदिदै आएको वे ग्रुप नेपालले डेंगु रोगको संक्रमण फैलिँदै गएपछि लामखुट्टेको लार्भा खोजेर नष्ट गर्न गाडी ग्यारेज तथा फोहोर बढी भएका पानी जम्ने ठाउँहरूमा जान थालेका छन् । डेंगु सार्ने एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले सफा पानीमा फुल पारेर सन्तान वृद्धि गराउने हुँदा त्यस्ता स्थानको पहिचान गरी नष्ट गर्नकोलागि गाडी ग्यारेज वरिपरि टायर पल्टाउँदै हिँडेको हो ।
सरसफाई अभियन्ता राजु सेढाईले ग्यारेज सञ्चालक तथा ग्यारेजमा काम गर्ने मजदुरहरूलाई समेत यसबारे सचेत गराइएको र ‘आफैँले सुरक्षा नअपनाउँदा डेंगु फैलिन सक्ने तर्फ सचेत गराउदै अभियान चलाईएको बताए । उनले थपे, ‘त्यसैले जहाँ सफा पानी जमेको छ, त्यसलाई फाल्न हामीले सुझाएका छौँ ।

डेंगुबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने भएकोले सबैले आ–आफ्नो घर वरिपरि सरसफाइ गरिराख्नुपर्ने अर्का अभियन्ता रजनी श्रेष्टको भनाइ छ । ‘सरसफाइमा ध्यान नदिँदा डेंगुबाट हामी टाढा जान सकेका छैनौ भन्दै ३ बर्षदेखी सरसफाई अभियानमा निरन्तर सरीक अमृत पौडेलले ‘बरू हामीले आफ्नै घर वरिपरि डेंगु सल्काउने लामखुट्टेको संरक्षण गरेर राखेका छौ भन्दै सबैलाई सचेत हुन आग्रह गरे !
भरतपुर महानगरपालीकाका नगर प्रहरीहरु, वडा प्रहरी कार्यालय नारायणगढबाट खटि आएका प्रहरी टोली लगाएत स्थानीय टोलवासीहरुले वे ग्रुपको अभियानलाई साथ दिएका थिए । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरको वडा नं. १, २, ३, ४, १०, ११ र १२ डेंगु रोगको उच्च जोखिममा रहेको छ ।