चन्द्रदर्शनदोष आज : चन्द्रमा हेर्न नहुने!

काठमाडौं : सोमबार तीज पर्वसँगै गणेश चतुर्थी पनि परेको छ। गणेश चतुर्थीको राति चन्द्रमा हेर्न नहुने धार्मिक मान्यता छ। अन्य शुक्ल पक्षको चतुर्थीमा व्रत बस्दा चन्द्र दर्शन गरिन्छ, तर भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थीमा भने चन्द्रदर्शन निषिद्ध छ।

यस राति चन्द्रमा दर्शन गरे झुटो कलङ्क लाग्ने धार्मिक विश्वास छ।

गणेश चतुर्थीको चन्द्रमा दर्शन गरेकै कारण सत्राजित नामक एक राजासँग भएको स्यमन्तक मणि चोरेको झुठो दोष भगवान् श्रीकृष्णलाई लागेको धार्मिक कथा छ। अर्को कथाअनुसार भगवान् गणेशले यसै दिन चन्द्रमालाई श्राप दिएको मानिन्छ।

तर, भुलेर चन्द्रमा देखियो भने पनि दोष निवारणको उपाय छ।

मन्त्र जप गरे चन्द्रदर्शन दोषबाट निवारण हुने मान्यता छ। चन्द्रदर्शनदोष निवारण मन्त्र यसप्रकार छ–

सिंहः प्रसेनमवधीत् सिंहो जाम्बवता हतः।
सुकुमारक मा रोदीस्तव ह्येष स्यमन्तकः।।

यसको अर्थ हुन्छ– सिंहले प्रसेनको वध गर्‍यो र सिंहलाई जाम्बवनले मारे। हे सुकुमार बालक, तिमी नरोऊ, यो स्यमन्तक मणि तिम्रै हो।

यसबाहेक अन्य उपायअनुसार भागवत पुराणको १० औं स्कन्धको ५७ औं अध्याय पाठ गर्ने पनि छ। यस अध्यायमा कृष्ण र सत्राजितको कथा रहेको छ।