पोखरामा जारी विपद् प्रतिकार्य अभ्यास समापन

पोखरा , १२ जेठ ।

नेपाली सेना र युस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा यही जेठ ०५ गतेदेखी पोखरामा शुरु भएको विपद् प्रतिकार्य अभ्यास र सहयोग आदान प्रदान तालिम आज समापन भएको छ ।

विपद् व्यवस्थापनको समयमा हुने विभिन्न खोज, उद्धार तथा राहतका कार्यलाई सहज एवं प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित उक्त अभ्यासमा अमेरिका, बेलायत, थाइल्याण्ड, मङ्गोलिया, श्रीलङ्का, बङ्गलादेशलगायत विभिन्न १३ राष्ट्रका प्रतिनिधिहरु गरी २२२ जना सहभागी रहेका थिए । उक्त तालिमको सप्ताहव्यापी कार्यक्रममा विपद् व्यवस्थापन’ विषयक प्रस्तुति, समूहगत छलफलका साथै विपद् प्रतिकार्यका विभिन्न अभ्यास गरिएको छ ।


नेपाली सेना र युएस आर्मी प्यासिफिकको सहकार्यमा सन् २०११ देखि हालसम्म चार वटा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रमहरु सम्पन्न भएपनी प्रादेशिक संरचनामा भने यो पहिलोपटक पोखरामा यस किसिमको अभ्यास गरिएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली सेनाका प्रधान सेनापती पुर्णचन्द्र थापाले भौगोलिक अवस्थिति समेतका आधारमा नेपाल प्राकृतिक रुपमा विपद् जोखिमयुक्त क्षेत्र भएको बताउँदै यहाँका सम्भावित जोखीम न्यूनीकरणमा यस किसिमका अभ्यास उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।


साथै यस्ता अन्तराष्ट्रिय स्तरका सयुँक्त अभ्यासले दक्ष जनशक्तीको उत्पादन तथा गुणस्तरीय एवं उपयोगी ज्ञान हासिल हुने भएकाले यस्ता अभ्यासहरुले विपद व्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्माण गर्ने बताउनु भएको छ ।