चितवनका दर्शकमाझ जातैजात्राको निर्माण टोली

चितवन, १२ जेठ । गत सोमबार प्रदर्शनीमा आएको नेपाली चलचित्र जात्रै जात्राले राम्रै व्यवसायिक सफलता प्राप्त गरेको छ । व्यवसायिक रुपमा सफल मानिएको चलचित्रले दर्शकहरुको मन समेत जितेको छ ।
चलचित्रको बारेमा दर्शकहरुको प्रतिकृया बुझ्दै हिँडेको निर्माण टोली चितवन आइपुगेको छ । चितवन आएको टोलीले दर्शकको प्रतिकृयासँग आइतबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रियाका क्रममा चलचित्रका कार्यकारी निर्माता एवम् कलाकार रवीन्द्रसिंह बानियाले दशौँ दिनसम्म आइपुग्दा समेत दर्शकहरुको उत्साहले आफू हौसिएको प्रतिकृया दिए ।
‘हामी दर्शकहरुसँग खुसी साटासाट गर्न आएका हौँ’ बानियाले भने, –‘धेरै दर्शकहरुले चलचित्र राम्रो बनेको प्रतिकृया दिँदा हामी हौसिएका छौँ, आगामी दिनमा थप सशक्त चलचित्र निर्माणमा हामीलाई उत्प्रेरणा जगाएको छ ।’ यसअघि प्रदर्शनीमा आएको जात्राले खासै व्यवसायिक सफलता प्राप्त नगरेको भएपनि सिक्वेलको रुपमा निर्माण गरिएको जात्रै जात्राले दर्शकहरुमा सुखी ल्याएको बताए । चलचित्र हेर्ने बेलासम्म दर्शकहरुको हाँसोको फोहोराका साथै एकाग्र भएर चलचित्रमा नै ध्यान केन्द्रित भएको आफूहरुले पाएको बानियाको भनाइ छ ।
राम्रो चलचित्र बनाउका लागि विषयवस्तुमा इमान्दारीता अपनाउनुपर्ने उल्लेख गर्दै चलत्रिका निर्देशक प्रदीप भट्टराईले आगामी दिनमा ओझिलो चलचित्र निर्माणमा प्रेरित भएको बताए । समाजका व्यथिति, विसंगतीको कथावस्तुलाई लिएर कमेडी जोड्दै चलचित्र निर्माण गर्न समेत रिस्क लिन पछि नपर्ने भट्टराईले बताए । राम्रो चलचित्र बनेर मात्रै नहुने भन्दै आफूहरु प्रचारप्रसारसँग दर्शकहरुको प्रतिकृया लिनका लागि देश दौडाहामा जुटेको भट्टराईको भनाइ छ ।
‘टिम राम्रो भएपछि चलचित्र राम्रो बन्छ’ भट्टराईले भने, –‘फिल्म रमाइलो युद्ध हो, युद्ध त्यो बेला तिजिन्छ जुन बेला शक्तिशाली सेनाको सेनापति हुन पाइन्छ ।’ चलचित्रमा सबैको लगाव रहन सकेको खण्डमा मात्रै राम्रो कन्टेन्ट प्रदान गर्न सकिने भट्टराईले बताए । कार्यकारी निर्माता रवीन्द्रसिंह बानिया, बाल कलाकार अरविन खड्का, निर्देशक प्रदीप भट्टराईसहितको टोली चितवन आएको हो ।