चनौलीमा बन्यो नयाँ प्रहरी चौकी भवन

भरतपुर, १२ जेठ इलाका प्रहरी कार्यालय चनौलीको नवनिर्मित भवनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका छन् । शनिबार एक कार्यक्रमकाबीच उनले भवनको उद्घाटन गरे । भवनको गत मंसीर २९ गते शिलन्यास भएको थियो । भरतपुर–१८ चनौली बजार नजिकै पुरानो चौकी भवन नजिकै नयाँ भवन बनेको हो ।
३ नम्बर प्रदेश प्रहरी कार्यालयले विनियोजन गरेको १ करोड ८७ लाख लागतमा भवन बनेको हो । व्यारेक भवन, मेस भवन र शौचालय बनाइएको छ । इलाका प्रहरी कार्यालयमा २३ जनाको दरबन्दी छ । यो कार्यालयले करिव ७ हजार घरधुरीको सुरक्षा गर्नुपर्ने अवस्था छ । प्रतिप्रहरी २० किलोमिटरको सुरक्षा दिनुपर्ने देखिन्छ । पश्चिम चितवन व्यापारिक केन्द्रका रुपमा विकासहुदै गएकाले सुरक्षा मजबुत पार्नुपर्ने देखिन्छ । प्रहरी महानिरीक्षक खनालले प्रहरी चौकीलाई प्रविधिमैत्री बनाउँदै लगिने बताए । उनले अपराध नियन्त्रणमा समुदायले सहयोगीका रुपमा प्रहरीलाई साथ दिनुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र वस्नेतले पश्चितम चितवनको सुरक्षा मजबुत बनाउन इलाका प्रहरी कार्यालयले प्रभावकारी भूमिका खेलिरहेको बताए ।

कार्यक्रममा वडाध्यक्ष दीपक लामा, प्रदेश ३ प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक दिपककुमार थापा लगायतले मन्तव्य राखेका थिए । चनौली आमा कल्याण समूहले सहयोग गरेको १ कट्ठा र प्रहरी चौकीको २ कट्ठा क्षेत्रफलमा नयाँ संरचना बनेका हुन् ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत ,प्रहरी प्रमुख शुशिल सिहं राठौर लगायतकाले बोल्नु भएको थियो ।