भरतपुरकाे वीरेन्द्र टोलमा सरसफाइ 

भरतपुर, ११ जेठ । भरतपुर महानगरपालिका १० मा रहेकाे वीरेन्द्र क्याम्पस रोड नमूना टोल विकास संस्थाले आफ्नो कार्यक्षेत्र वरपर सरसफाइ गरेको छ ।
टोल विकास संस्थाको कार्यक्षेत्रमा पर्ने वीरेन्द्र क्याम्पसचोकदेखि सिनर्जी रोड, दीपेन्द्रचोक हुँदै विशालचोकसम्म सरसफाइ गरिएको संस्थाका अध्यक्ष शेषराज सापकोटाले जानकारी दिए ।
शनिबार बिहान स्वतःस्फूर्त सहभागी टोलबासीले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुराट सहभागी प्रहरी तथा जिल्ला वन कार्यालयका प्रतिनिधिसमेतको सहभागितामा टोल वरपर रहेका फोहर संकलन गरी फोहर व्यवस्थापन गर्न सचेतसमेत गराएका थिए ।
आफ्नो टोल आफैं सफा गरौँ भन्ने अभियानका साथ नियमित टोल सफाइमा जुट्न संस्थाले अपीलसमेत गरेको छ ।
यसअघि बिहीबार संस्थाको आह्वानमा सम्पूर्ण टोलबासी सहभागी भई सरसफाइ सचेतनामूलक र्यालीसमेत निकालिएको थियो । ‘हाम्रो टोल राम्रो टोल बनाऔं’, ‘वीरेन्द्र क्याम्पस टोलको अभियान, स्वच्छ टोल हाम्रो अभियान’, ‘आफूबाट उत्पन्न फोहर आफैं व्यवस्थापन गरौँ, सुन्दर टोल स्थापनामा हातेमालो गरौँ’ लगायत नारा लेखिएका प्लेकार्डसहित र्याली निकालिएको थियाे ।