प्रहरी महानिरीक्षक खनालको निर्देशन : सबै प्रहरीहरु सुरक्षित समाज निर्माणमा जुट्नुस्

चितवन, ११ जेठ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गर्दै अगाडि बढ्न निर्देशन दिएका छन् ।
प्रहरीले लगाएको बर्दीमा कानुन भएको उल्लेख गर्दै खनालले यो कानुनलाई जथाभावी नभएर समुदायसँग मिलेर अगाडि बढ्न निर्देशन दिनुभएको हो । ‘समुदायको मन जित्ने भनेको कहाँ हो भन्दा असल नागरिकसँग सम्पर्क र सम्बन्ध राख्ने, सहयोग लिने, सहकार्य गर्ने गर्नुस्’ खनालले भने, –‘गलत प्रवृत्तिका गुण्डागर्दी, फटाहा, अपराधी, ठगहरुलाई तह लगाउने, यत्ति भयो भने समुदाय पनि राम्रो बन्छ ।’ खनालले अगाडि थपे, –‘म यसै सन्दर्भमा यो निर्देशन पनि दिन्छु, कुनै पनि बाहानामा ओहो ! चार जना गुण्डा आए, यहाँ त पटिहानीमा यस्तो भयो लुटियो पर्यटक भन्ने सुन्न चाहान्न, त्यस्तो भयो भने तपाईँहरुलाई कारबाही हुन्छ ।’

 

 

भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा पर्यटक प्रहरीको कार्यालय उद्घाटन गर्दै महानिरीक्षक खनालले प्रहरी माथि नागरिकले विश्वास गर्ने वातावरण बनाउन आग्रह गरे । नेपाल प्रहरीले स्थापना गरेको पर्यटक प्रहरीले पर्यटकहरुको सुरक्षा सँगै आम नगरिकहरुको सुरक्षामा समेच ध्यान दिनुपर्ने बताए । पर्यटकको सुरक्षाका लागि नेपाल प्रहरीले पर्यटन मन्त्रालयसँग सहकार्य गर्दै चितवनको पटिहानी क्षेत्रमा चाँडै नै सिसि क्यामेरा जडानको काम थाल्ने बताए ।
सो कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले पटिहानीमा पर्यटकहरुको चहलपहल बढेसँगै पर्यटक प्रहरीको खाँचो औँल्याइएको बताए । यस क्षेत्रमा तीन वटा तीन तारे होटल तथा पाँच वटा ठूला होटल समेत गरी ३० वटा हाराहारीमा सुविधासम्पन्न होटलहरु रहेकाले समेत पर्यटक प्रहरीको कार्यालय स्थापना भएको महतोले बताए ।
आज उद्घाटन गरिएको पर्यटक प्रहरी कार्यालयमा ६ वटा सञ्चार उपकरण तथा ६ वटा मोटरसाइकल प्रदान गरिएको छ भने प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना पर्यटक प्रहरी खटाइएको छ । सो क्षेत्रमा पर्यटक प्रहरीको दरबन्दी बढाएर १२ जना पु¥याउने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।