कतै तपाईंको उचाई कम त छैन ?

अतुल उपाध्याय

पुड्कोपन राष्ट्रिय पोषणको समस्या हो । यसले दिर्घकालमा देखाउने असरहरु सामाजिक तथा आर्थिक विकासका समस्याहरु हुन् । उमेर अनुसार हुनु पर्ने न्यूनतम उचाई नहुनु पुड्कोपन हो । त्यसको मापन उमेर र उक्त उमेरमा हुनु पर्ने उचाईका आधारमा गरिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार जन्मदाको शिशुको उचाई कम्तिमा ४५ देखि ५० से.मी. को हुनुपर्दछ भने सो शिशुको उमेर १ वर्ष पुग्दा २५ से.मी. थप हुनु पर्दछ ।

दोस्रो वर्षमा १२.५ से.मीे. थप हुनु पर्र्छ । यस्तै तेस्रो, चौथो र पाँचौ वर्षमा ७ देखि ९ से.मी. का दरले थपहुदै जानु पर्दछ ।  यसरी वयस्क अवस्था सम्म आइपुग्दा महिलाको औसत उचाई १सय ६३ से.मी. अर्थात ५ फीट ३ इन्च र पुरुषको औसत उचाइ १ सय ७६ से.मीे. अर्थात ५ फीट ७ इन्चभएको हुनु पर्दछ ।

यो मापदण्ड अनुसार उचाइ वृद्धि हुन नसकेको बालबालिका तथा वयस्कलाई पुड्के भनिन्छ । यस्तो खालको न्युन कुपोषणलाई दिर्घ कुपोषण पनि भनिन्छ ।

पुड्के बाबु आमाबाट जन्मेको छोरा छोरी पनि पुड्को हुने सम्भावना धेरै हुन्छ । एक पटक भइसकेको पुड्कोपनालाई कुनै पनि उपचार पद्धति वा सन्तुलित आहारले अग्लो बनाउन सकिदैन । तसर्थ, ५ वर्ष भन्दा अगावै बालबालिकालाई पोषण युक्त खाना खुवाएमा मात्र उक्त समस्यालाई हल गर्न सकिन्छ । उचाइ अनुसार तौल नबडेको अवस्थालाई ख्याउटेपन भनिन्छ ।

भोकमारी, कडा रोग जस्ता कारणबाट बालबालिकामा ख्याउटेपनको अवस्था उत्पन्न हुन्छ । यस्तो खालको न्युनपोषणलाई शिघ्र कुपोषण भनिन्छ ।

६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाको वाया पाखुराको माथिल्लो बीच भागको ओरी परीको मोटाई नाप्ने टेपको माध्यम द्वारा ख्याउटेपनको स्तर मापन गरिन्छ ।

पोषणविद् पाठक

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार शिशू स्वस्थ जन्मदा पाखुराको मोटाई १० देखि ११ से.मी. हुनु पर्दछ । यस्तै जन्मेको १ वर्षमा १६ से.मी. हुनु पर्दछ । त्यसपछि प्रत्येकवर्ष ०.१५ से.मी.का दरले वृद्धि भई ५ वर्ष पुग्दा १७ से.मी. हुन्छ । शिशुको पाखुरा नाप्दा १२.५ से.मी. भन्दामाथी भएमा हरियो रंग अर्थात सामान्य अवस्था बुझ्न सकिन्छ भने १२.५ से.मी. भन्दा कम भएमा पहेलो रंग अर्थात मध्यम खालको कुपोषण र ११.५ से.मी. भन्दा कम भएमा रातो रंग अर्थात कडा कुपोषणको भनेर बुझ्न सकिन्छ ।

उमेर अनुसार हुनु पर्ने तौल नभएको अवस्थालाई नै कमतौल भनेर बुझ्नु पर्दछ । यसको मापन उमेर र उक्त उमेरमा हुनु पर्ने तौलको आधारमा गरिन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जन्मदा शिशुको तौल २.५ देखि ३.४ के.जी. हुनु पर्छ ।

पहिलो ५ महिनामा जन्मदाको भन्दा दोब्बर हुनु पर्दछ भने १ वर्षमा तेब्बर हुनु पर्दछ ।  यस्तै दोस्रो वर्षमा २.५ के.जी. थपहुनु पर्दछ भने तेस्रो, चौथो र पाँचौ वर्षमा २, २ केजी का दरले थपहुदै जानु पर्दछ । सो अनुसार नभएको अवस्थालाई कमतौल भनिन्छ ।

वयस्क मानिसको हकमा भने उचाई अनुसार तौल छ वा छैन भनी जाचेर मात्र उनको तौल ठीक छ वा छैन भनेर थाहा पाइन्छ । सो जाच्नका लागि वडि मास इन्डेक्स वीएमआइको प्रयोग गरिन्छ । वीएमआई भनेको शरीरको उचाई र तौल बीच तादम्यता मापन गर्ने सुचक हो । यस बाट मानिसको कम, सामान्य, अधिक तौल र मोटोपनको अवस्था मापन गरिन्छ ।

शरीरमा हुने दिर्घकालीन शक्तिकमीको मापन पनि यसै बाट गरिन्छ । उचाईको आधारमा शरीरमा भएको तौलमापन गरी कस्तो खालको कुपोषण हो भन्ने पत्ता लगाइन्छ । वयस्क मानिसको वीएमआइ १८.५ भन्दा कम भएमा कम तौल, १८.५ देखि २४ं.९९ सम्म भएमा सामान्य, २५ देखि २९.९९ सम्म भएमा अधिकतौल र ३० भन्दा बढि भएमा मोटोपन भन्ने बुझिन्छ । वीएमआई पत्त्ता लगाउन व्यक्तिको शरीरको तौल (केजीमा) लाई सोही व्यक्तिको उचाई (मिटरमा) निकाली त्यसलाई वर्ग गरी भाग गर्दा वीएमआई निस्कन्छ ।

उदाहरणका लागि ५ फिट ३ इन्च का वयस्कको यदी तौल ४८ देखी ६२ के.जी. सम्मको छ भने, सो तौललाई ठीक मानिन्छ । तर सो भन्दा कम छ भने, त्यसलाई कमतौल भनिन्छ ।

(उपाध्याय पोषणविद् हुन्)