त्रिशूलीमा ट्रक खस्दा दुई जना घाइते

चितवन, १० जेठ । नारायणगढ मुग्लिङ सडक खण्डबाट भारतीय मिनी ट्रक त्रिशूली नदीमा खस्दा दुई जना घाइते भएका छन् । सो भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने दासढुंगा नजिकैको क्षेत्रबाट सो ट्रक नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शुक्रबार बिहान नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी३२एलएन ३८७० नम्बरको भारतीय मिनी ट्रक त्रिशूली नदीको किनारमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले सडकबाट करिब २० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउ घर भएका ३५ वर्षीय महमद हसन र सहचालक सहीर अली घाइते भएको बताए । उनीहरुमध्ये चालक हसनको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको रग्मीले बताए । दुवै जना घाइतेको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आँप बोकेर काण्ठमाण्डौंका लागि हिँडेको सो मिनी ट्रक अनियन्त्रीत भइ आज बिहान करिब साढे दुई बजेतिर त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।