हतियारसहित २४२ पक्राउ

 

काठमाडौं,९ जेठ । प्रहरीले २ सय ४२ जनालाई हतियारसहित पक्राउ गरेको छ । साउन यता देशभरबाट उल्लेखित संख्या पक्राउ परेको हो । पक्राउ परेका मध्ये २ सय ३६ पुरुष र ६ महिला छन् ।

१७ विदेशी समेत हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुबाट एलएमजी राइफल एक थान, पोइन्ट टुटु राइफल एक थान, एसएमजी दुई थान, एमसिक्स्टीन एटु राइफल एक थान, पेस्तोल ३८ थान, बन्दुक १४ थान, कटुवा पेस्तोल ३६ थान, रिभल्वर तीन थान, भरुवा बन्दुक १ सय १८ थान गरी २ सय १४ बरामद भएको छ । हतियारसँगै ६ सय ८० राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता विश्वराज पोखरेलले हतियार ओसारपसार गर्ने १ सय ६५ जनाविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिनुभयो । ‘ ठूलो परिणाममा आधुनिक हतियार बरामद हुनु समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सहयोग पुगेको छ’ उहाँले भन्नुभयो,  ‘ बरामद भएका हतियारमध्ये पेस्तोल, रिभल्वरको साथै नेपालमै बनेका कटुवा पेस्तोल बढी छन् ।’