सरकारकाे एआईजी–डीआईजी घटुवा निर्णय सर्वाेच्चद्वारा बदर

काठमाडौँ, ०९ जेठ । सर्वोच्च अदालतले राष्ट्रिय अनुसन्धानका एआईजी यादव रेग्मी र डीआईजी मधु कार्कीलाई एक तह घटुवा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले सरकारको निर्णय अन्यायपूर्ण भएको जिकिर गर्दै बदर गरिदिएको हो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा रेग्मी एआईजीमा बढुवा भएका थिए भने कार्कीलाई वर्तमान सरकारले नै बढुवा गरेको हो ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विभागमा एआईजी र डीआईजीको दरबन्दी घटाउनुका साथै रेग्मी र कार्कीलाई एक/एक तह घटुवा गरेको थियो ।

सरकारको निर्णयविरुद्ध रेग्मी र कार्कीले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूको रिटमाथि बुधबार सुनुवाइ गरी सर्वोच्चले घटुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।