३०४ थान यार्सागुम्बासहित १३ पक्राउ 

 

डोल्पा, जेठ ८ । हिमाली जिल्ला डोल्पाको एक यार्सा पाटनबाट अवैध रूपमा छिरेका १३ जना यार्सागुम्बा संकलक पक्राउ परेका छन्। उनीहरूलाई नेपाली सेनाको सम्दुवा पोष्टको टोलीले शे–फोक्सुन्डो गाउँपालिकामा पर्ने रमाना यार्सा पाटनबाट गरको हो।

पक्राउ पर्ने सबै डोल्पा जिल्लाका रहेको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ। पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका-१ का खगेन्द्र रोकाय, नरेन्द्र बोहोरा, राजेन्द्र बोहोरा, हिरालाल बोहोरा रहेका छन्।

त्यसैगरी वडा नं ९ का जंग बहादुर बुढा, वडा नं ७ बस्ने तुलाचन्द्र बुढा, हेमन्त बुढाथोकी, तुल बहादुर सार्की, गोर बिटालु, राजेन्द्र बुढामगर, मुललाल बिक, डिलकु नेपाली र मित्रा बुढा रहको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादबले जानकारी दिए। उनीहरूको साथबाट ३ सय ४ थान यार्सागुम्बा, ३ थान मोबाइल,२ थान कुटो बरामत गरिएको उनले बताए।

यार्सा पाटन खुला गर्ने समय अगावै अवैध रूपमा पाटनमा छिरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ। जिल्लास्थित सरोकारवाला निकायको बैठकले १३ जेठमा मात्रै डोल्पाका सम्पूर्ण यार्सागुम्बा पाटन खोल्ने निर्णय गरेकाले थियो।

बैशाखदेखि हालसम्म नेपाली सेना र निकुञ्जको टोलीले बिभिन्न यार्सापाटनबाट ६० जनाभन्दा धेरै यार्सागुम्बा संकलक पक्राउ गरिसकेको निकुञ्जले जनाएको छ।

निकुञ्ज सुरक्षार्थ बसेको इसोरी बक्स गुल्म सुलीगाडले निकुञ्ज क्षेत्रभित्र पर्ने यार्सा पाटनको सुरक्षा व्यवस्थालाई कडाइ गर्नुका साथै नियमित गस्ती गरिरहेको जनाएको छ।