जनप्रतिनिधिलाई मानवअधिकार अभिमुखीकरण

बन्दीपुर , ८ जेठ ।

बन्दीपुर गाउँपालिका जनप्रतिनिधिहरुलाई मानवअधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको समन्वयमा उक्त कार्यक्रम गरेको हो । स्थानीय तहले नीति, योजना र कार्यक्रम तय गर्दा मानवअधिकारमैत्री कसरी बनाउन सकिन्छ भन्ने जानकारी दिन तथा समग्र मानवअधिकारको अवधारणाको बारेमा जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालयका निर्देशक दिपक जंगध्वज कार्कीले विकासलाई मानवअधिकारको अवधारणाले हेर्नु पर्ने बताए । विकासका कामहरु मानवअधिकार मैत्री हुनु पर्ने भन्दै उनले योजना छनौट प्रक्रियामा सबै पक्षको समान सहभागिता हुनु पर्ने बताए । कार्कीले बिभेद रहित ढंगले सबैलाई विकास प्रक्रियामा समान अवसर दिनु पर्ने बताए ।

कार्यपत्र प्रस्तुत गर्दै इन्सेक पोखराका संयोजक शिव खकुरेलले मानवअधिकार र कर्तव्य एक आपसमा अन्तरसम्बन्धित हुने हुँदा मानवअधिकारको उपभोग गर्न खोज्नेले कर्तव्यको पनि पालना गर्नु पर्ने बताए । उनले विकासलाई मानवअधिकारसँग जोडेर हेर्न सकिएमा त्यस्तो विकास दीर्घकालिन र फलदायी हुने बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले गाउँपालिका मानवअधिकार मैत्री नीति र योजना बनाउन प्रतिबद्ध भएको बताए । उनले गाउँपालिकाको बजेट पनि मानवअधिकार मैत्री भएको बताए ।

गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट मध्ये भौतिक तर्फ २९ प्रतिशत र सामाजिक क्षेत्र तर्फ ३७ प्रतिशत रहेको जानकारी दिए। सबै नागरिकलाई विकासको मुलधारमा ल्याउन गाउँपालिकाले लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष थापाले बताए ।