स्थानीय तहगतरूपमा कर्मचारी माग गर्ने बाटो खुला

काठमाडौँ,८ जेठ । लोकसेवा आयोगले स्थानीय तहका लागि तहगतरूपमा कर्मचारी माग गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव पारित गरेसँगै तहगतरूपमा पनि कर्मचारी माग गर्ने बाटो खुलेको हो ।

यसअघि श्रेणीगतरूपमा कर्मचारी मागिएको थियो । स्थानीय तह र प्रदेशमा कर्मचारीका लागि तहगत व्यवस्था गरिएअनुरूप अब तहगत रूपमा कर्मचारी माग गर्न लागिएको हो। संघीय सरकारमा भने श्रेणीगत व्यवस्था कायम गरिएको छ ।

मन्त्रिपरिषद्ले पारित गरेसँगै आयोगले नयाँ कर्मचारी भर्नाका लागि एक दुई दिनमै विज्ञापन आह्वान गर्नेछ । अब आयोगले अधिकृतस्तरको पदमा १ हजार र नायब सुब्बास्तरमा ३ हजार पदमा नयाँ विज्ञापन गर्नेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि कर्मचारी माग गर्न आयोगलाई पत्राचार गरेको थियो। त्यसपछि स्थानीय तहका लागि कर्मचारीको विज्ञापन गर्ने सम्बन्धमा तह र श्रेणीका बीचमा देखिएको अन्योल, तहगत परीक्षाका लागि आवश्यक योग्यता, बढुवाको क्षेत्र, कार्य्विधि, बढुवा उम्मेदवारजस्ता विषयमा नीतिगत निर्णय हुनुपर्ने विषयमा आयोगले सरकारसँग स्पष्टता खोजेको थियो ।यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।