चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउनुपर्छ : मन्त्री ढुंगेल

चितवन, ०५ बैशाख । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै अगाडि बढाउने बताएका छन् ।
प्रदेश नम्बर ३ को विकासका लागि अन्य जिल्लालाई भन्दा चितवनलाई धेरै बजेट विनियोजन गर्ने उल्लेख गर्दै ढुंगेलले मदन भण्डारीको शव भेटिएको चितवन ऐतिहासिक भूमि भएको बताए । मदन भण्डारीको शव भेटिएको ठाउँ भरतपुर १७ गाँजीपुरमा आज आयोजित श्रद्धाञ्जलि तथा निशुल्क स्वस्थ्य शिविर कार्यक्रममा मन्त्री ढुंगेलले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताए । ऐतिहासिक भूमि, धार्मिक तथा पर्यटकीय गन्तव्य बोकेको यस जिल्लालाई प्रदेश सरकारले चितवनको गौरव, प्रदेश ३ को सौरभ भनेर अगाडि बढिएको ढुंगेलको भनाइ छ ।
विसं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा कार दुर्घटनामा मृत्यु भएका जननेता मदन भण्डारीको शव जेठ ५ गते गाँजीपुरमा भेटिएको थियो । त्यसै दिनको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपाका नेताहरुले दासढुंगादेखि गाँजीपुरसम्मको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष योजना ल्याउनुपर्ने बताएका छन् । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य देवी ज्ञवाली, प्रदेशसभा सदस्य द्वय विजय सुवेदी तथा कृष्णप्रसाद भुर्तेल, नेकपाका स्थानीय नेता पिताम्बर पोखरेललगायतले मन्तव्य राखेका थिए । मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुरका अध्यक्ष गौरेश तामाङको अध्यक्षतामा भएको कार्यक्रममा मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।
२६औँ मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जलि तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम मदन भण्डारी फाउन्डेशन चितवन, मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुर तथा चितवन मोडल हस्पिटल भरतपुरको आयोजनामा गरिएको हो । कार्यक्रममा मोडल हस्पिटलका वरिष्ठ कन्सल्टेन्ट एवम् हाडजोर्नी तथा स्पाइन रोड विशेष डाक्टर निराजन सुवेदी, फिजिसियन डाक्टर प्रमोदकुमार दासलगायत ६ जना स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
सो शिविरमा हाडजोर्नी, नशा, वाथ रोग, स्पाइन चेकजाँचका साथै जनरल स्वास्थ्य चेकजाँच गरिएको छ । शिविरमा स्त्री रोग सम्बन्धी चेकजाँच समेत गरिएको थियो । निशुल्क सुगर परीक्षण र मानसिक रोगीलाई परामर्श समेत प्रदान गरिएको डाक्टर निराजन सुवेदीले जानकारी दिए । सो कार्यक्रममा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी वरिष्ठ नर्स अयोध्या पाठकले महिलाहरुलाई पाठेघर र स्तन क्यान्सरको बारेमा प्रशिक्षण समेत दिएकी थिइन् ।

मन्त्री ढुंगेलले स्वास्थ्य सम्बन्धी ब्याग डाक्टर सुवेदीलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।