एक वर्षमा ‘समृद्ध नेपाल र सुखी नेपाली’को जग : उपप्रधानमन्त्री

ओखलढुंगा , ५ जेठ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीका लागि एक वर्षमा बल्ल सरकारले जग हालेको बताएका छन् । ओखलढुंगाको रुम्जाटारमा निर्माण सम्पन्न भएको बौद्ध गुम्बा उद्घाटन गर्न आएका उपप्रधानमन्त्री पोखरेलले यस्तो कुरा बताएका हुन् ।

ओखढुंगगाको सिद्धिचरण नगरपालिका-४ को रुम्जाटारमा प्रदेश-१ कै ठूलो दाबी गरिएको बौद्ध गुम्बाको उद्घाटनको अवसरमा उपप्रधानमन्त्री पोखरेलले ०६२/०६३ को आन्दोलनले ल्याएको परिवर्तनका कारण देशमा संघीय गणतन्त्र स्थापना भएको र अहिले सरकार मात्रै परिवर्तन नभई प्रणालीसमेत परिवर्तन भएको बताए।

राज्यमा प्रजातन्त्र स्थापनापछि देशको नेतृत्वमा ओखलढुंगाका नेताले नेतृत्व गरे पनि ओखलढुंगाको विकासमा खासै परिवर्तन नभएका कारण विकासका सवालमा कतै हलो अड्किए आफूले अड्को पुकाउने बताए। त्यसैगरी, उद्घाटन कार्यक्रममै प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले काठमाडौंमा खुम्चिएर रहेको सिंहदरबार जनताको घरघरमा आएको भन्दै अब विकासले गति लिने बताए ।

उनले प्रदेश-१ को धेरै भूगोल पहाडी भूभाग भएका कारण समृद्ध र सुखी प्रदेश बनाउन जनताको टोलटोलमा सडक पुर्‍याएपछि मात्रै विकासले एक खुड्किलो पार गर्ने बताए। उनले आफ्नो एकवर्षे कार्यकालमा विकासको गति नबढे पनि संघीयताको प्रणालीको आधार पूरा गर्ने काम र नीति निर्माणमा बनिसकेकाले अबका दिनमा विकासका काम गर्ने र  आफू जनताको चाहनाविपरीत नजाने बताए ।

स्थानीय बौद्धमार्गी गुरुङ समुदायको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग रकम जुटाएर १० रोपनी क्षेत्र फैलिएको गुम्बा १० करोडको लागत अनुमान गरिएको छ। हालसम्म गुम्बा निर्माणमा ५ करोड बढी खर्च भइसकेको रुम्जाटार बौद्धगुम्बा फाउण्डेशनका महासचिव प्राध्यापक डा. गणेश गुरुङले बताए।