नेकपाका अध्यक्ष ‘प्रचण्ड’को पहलमा पश्चिम चितवनमा अर्बौंका योजना,मूल प्राथमिकता पिच सडक

रामशरण गैरे
मेघौली,५ जेठ । निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएसँगै पूर्वप्रधानमन्त्री प्रचण्डको मूल प्राथमिकता पिच सडक बनाउनमै केन्द्रित छ ।

‘प्रचण्ड’को पहलमा सबैभन्दा बढी रकम रिङरोड, लिंकरोड र प्रचण्डमार्गलगायत सहरी विकास कार्यक्रमअन्तर्गत २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी विभिन्न १३ वटा सडकमा काम भइरहेको छ ।

यस आर्थिक वर्षमा पश्चिम चितवनमा विकासका पूर्वाधारहरु सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, पर्यटन, कृषिलगायतको विकासका लागि लगभग ४ अर्बबराबरको रकम निकासा भएको छ । अहिले ती आयोजनाहरु धमाधम अगाडि बढिरहेका छन् ।

पश्चिम चितवनको महेन्द्रचोक–तेलौली सडकखण्डमा १८ करोड ३३ लाख ४० हजार ९४ रूपैयाँ, मुक्तराज चोकदेखि भरतपुर महानगरको २५ नम्बर वडा कार्यालयसम्मको सडकखण्डका लागि २७ करोड ३५ लाख ७९८ रूपैयाँ, पारिजात चोकदेखि उज्ज्वलनगर जंगल सिमानासम्मको सडकखण्डका लागि ११ करोड २३ लाख ७७८ रूपैयाँ, कैलाशचोकदेखि चनौली बजारसम्मको सडकखण्डका लागि ११ करोड १४ लाख ९१ हजार १५ रूपैयाँ बजेट परेको छ ।

महेन्द्रचोक–तेलौली सडकको प्रचण्डमार्ग पहिलोका लागि ३६ करोड ५९ लाख २१ हजार ५१२ रूपैयाँ, महेन्द्रचोक–तेलौली सडकको प्रचण्डमार्ग दोस्रोका लागि ९ करोड ६९ लाख ११ हजार ४६६ रूपैयाँ र शिवघाट–सुन्दर कुमारचोक–सापकोटा चोक हुँदै पकौडी रोडसम्मका लागि १६ करोड २३ लाख ९४ हजार ९९९ रूपैयाँको बजेट निकासा भएको छ ।

प्रचण्डको पहलमा सडक डिभिजन कार्यालयमार्फत निर्माण भइरहेका विभिन्न सातवटा सडकका काम पनि चालू छन् । सडक डिभिजनमार्फत आएको ३८ करोड ३५ लाख रूपैयाँ रकममा विभिन्न सातवटा योजनाहरु निर्माण भइरहेका छन्, जसमा रामपुर–मेघौली सडक १३ करोड, भरतपुर–ठोरी हुलाकी सडकको पटिहानीदेखि जगतपुर पुलसम्म १० करोड ७२ लाख, वडा नम्बर १४ को बरको बोटबाट प्रचण्डमार्ग जोड्ने सडक पाँच करोडको लागतमा निर्माण हुँदै छ ।

त्यस्तै सीतामाई सडकखण्ड पाँच करोड ६३ लाख, पकौडी विशालचोकदेखि प्रचण्डमार्ग जोड्ने सडक एक करोड ५० लाख, मदन स्मृति पार्क भरतपुर एक करोड, भरतपुर–१६ शिवराम चोकदेखि जानकी चोकसम्मको सडक एक करोड, रानीपोखरीमा पार्क तथा पूर्वाधार निर्माण १० करोड ३९ लाख १२ हजार ६५१ रूपैयाँको लागतमा योजनाहरु चालू अवस्थामा छन् ।

मेघौली साना किसान चोकदेखि गौतमनगर हुँदै साझापुर भंगाहासम्मको सडकका लागि तीन करोड, चनौली बजारदेखि पर्साढापसम्मको सडक स्तरोन्नतिका लागि तीन करोडका योजनाहरु सञ्चालनका क्रममा छन् । यस्तै, भरतपुर–२८ साझापुर माविको परिसरमा दुई लाख ५० हजारको लागतमा विपद् व्यवस्थापन भवन बन्दैछ ।आजको चितवनपोष्टमा खबर छ ।