पोखरा २७ र २९ जोड्ने ७७ मिटर लामो झोलुङ्गे पुल मन्त्री उपेन्द्र यादवद्वारा उद्घाटन

पोखरा , ५ जेठ । 

पोखरा महानगरपालिका वडा नं २७ र २९ जोड्ने ७७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएकाे छ ।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिति कास्कीद्वारा निर्मित उक्त पुल उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एक कार्यक्रमकाबीच  शुक्रवार उद्घाटन गरेका छन् ।

कुल  ३५ लाख आठ सय ७० रुपैयाँमा निर्मित उक्त नर्मदेश्वर झोलुङ्गे पुलको उद्घाटन गर्दै मन्त्री यादवले पुल निर्माण भएपछि धार्मिक एवम् सांस्कृतिक स्थललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने बताए ।

नर्मदेश्वर पुल निर्माण समिति अध्यक्ष शान्ती पौडेलले बगादी र सेती नदीको संगमस्थल नर्मदेश्वर धाममा पोखरा २७ र २९ का स्थानीयवासी आवतजावत गर्न निकै कठिनाइ भैरहेका अवस्थामा पुल निर्माणपछि सहज हुने बताइन् ।

नर्मदेश्वर मोक्षाश्रम धाम संरक्षण समितिका अध्यक्ष एवम् झोलुङ्गे पुल निर्माण अनुगमन समितिका अध्यक्ष झविन्द्रराज आचार्यले पुल निर्माणसँगै नर्मदेश्वर धाममा निर्माण हुन लागेको विशाल मन्दिर सहितका संरचना चाँडै सम्पन्न हुने बताए ।

नर्मदेश्वर धामको संरक्षण र विकासको प्रयास भएको उल्लेख गर्दै उनले कुल छ करोड रुपैयाँको लागतमा कलात्मक मन्दिर सहितका संरचना निर्माण गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा उपप्रधानमन्त्री यादवले पुल निर्माणका लागि पोखरा महानगरपालिका वडा नं २९ तर्फ जग्गा सहयोग गर्ने प्रा. चतुर्भज शर्मा पौडेल र वडा नं २७ तर्फ जग्गा प्रदान गर्ने स्वर्गीय पूर्णप्रसाद अधिकारीको परिवारलाई सम्मान समेत गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता गुरु बराल, पोखरा महानगरपालिका वडा नं  २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ, निर्माण समितिका सचिव बलबहादुर विक, कोषाध्यक्ष बाबुराम थापा लगायतले नर्मदेश्वर क्षेत्रको संरक्षण र विकासका साथै प्रवद्र्धन अपरिहार्य भएकोमा जोड दिएका थिए ।