ढुक्क भएर लगानी गर्नुस् : कृषी मन्त्री लामा

चिचतवन, ०४ जेठ । प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले नेपालमा लगानीमैत्री वतावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
चितवनको शक्तिखोरमा १७ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआर अन्तिम चरणमा पुगेको उल्लेख गर्दै लामाले औद्योगिक उत्पादनको नेतृत्व प्रदेश ३ ले गर्ने बताए । आज चितवनको भरतपुरमा आयोजित चितवन उद्योग संघको १९औँ साधारणसभाका क्रममा लामाले नेपालको औद्योगिक उत्पादन कृषिउन्मुख उनुपर्नेमा जोड दिए । नेपालमा धेरै खेतीयोग्य जमिन रहेको उल्लेख गर्दै लामाले कृषी उत्पादनका साथै कृषीजनय औद्योगिक उत्पादन हुनुपर्ने बताए ।
सो कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले चितवनमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रले औद्योगिक प्रवद्र्धनमा थप टेवा पुग्ने बताए । करिब ४१ करोड लागतमा निर्माण भइरहेको सो केन्द्रको निर्माण सम्पन्न गर्नका लागि करिब १८ करोड रुपैयाँ अपुग भएको बताए । २९ वर्ष चितवन उद्योग संघको स्वामित्वमा रहने गरी नेपाल सरकारको १५ करोड रुपैयाँ, नेपाल उद्योग परिसंघको १० करोड रुपैयाँ तथा अन्य उद्योगी व्यवसायीको अनुदानमा केन्द्र निर्माण भइरहेको छ ।
चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तेजेन्द्रबहादुर खड्का, नेपाली काँग्रेस चितवनका कार्यवाहक सभापति भूपतिदास सापकोटा, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्राडा होमबहादुर बस्नेतलगायतले मन्तव्य राखेका थिए ।