चितवनमा मिडिया काउन्सील विधेयक विरुद्ध प्रदर्शन

चितवन, ०३ जेठ । सरकारले ल्याएको मिडिया काउन्सील विधेयकमा भएका बुँदाहरु संशोधन गर्नुपर्ने भन्दै चितवनका पत्रकारहरुले प्रदर्शन गरेका छन् ।
सरकारले निर्माण गरेको मिडिया काउन्सील विधेयकलाई पत्रकारहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक भन्दै आज सञ्चार सामग्री सहित प्रदर्शन गरेका हुन् । नेपाल पत्रकार महासंघ चितवन शाखा अगाडि यहाँका पत्रकारहरुले क्यामेरा, कापी, कलमलगायतका सञ्चार साधनसहित प्रदर्शन गर्दै विधेयकको विरोध गरेका हुन् । प्रस्तावित विधेयकको दफा १८ मा जरिवाना गरी मागे अनुसारको क्षतिपूर्ति भराइदिन सक्ने भन्ने प्रावधानले पत्रकारिताको विश्वव्यापी मान्यता र नेपालको संविधानको समेत उल्लंघन गरेको महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले बताए ।
अदालतले गर्ने दण्ड जरिवानाको काम पनि सरकार मातहतको काउन्सीलबाट गराउन खोजिएको महासंघको ठहर छ । मिडिया काउन्सीललाई अर्धन्यायिक निकायका रुपमा स्थापित गर्दै दण्ड जरिवाना तोक्नेसम्मको अधिकार दिन लागिएकोमा पत्रकार महासंघले आपत्ति जनाएर चरणवद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।