नेकपाले धान्ला मदन भण्डारीको विरासत?

हामी मदन भण्डारीसँग लामो समय साथ रहेर काम गर्नेहरुका लागि जेठ ३ गतेले भावुकताको बाढी लिएर आउँछ। नेपाली राजनीतिमा मदन–आश्रितको ठोस योगदानको पहिचान गर्ने कार्यमा कहिलेकाहीँ त्यही भावुकता सीमा बनेर उभिने गरेको जस्तो लाग्छ।

सिद्धान्तका रुखा केस्रालाई उनी जनताको भाषामा बोल्न सक्थे। यहि क्षमताले एकैदिन धेरै ठाउँमा गरिने उनका भाषणका विषय दोहोरिंदैनथे, वा दोहोरिने विषयलाई फरक प्रसङ्ग र शब्दमा व्यक्त गर्थे। त्यसैले उनलाई सुनेर कहिल्यै पुग्ला जस्तो लाग्दैन।

मदन भण्डारीलाई एक व्याख्याता र सिद्धान्तकारका रुपमा स्मरण गर्नुपर्छ जस्तो लाग्छ भने जीवराज आश्रितलाई ती सिद्धान्त लागू गर्ने संगठन चलायमान बनाउने संगठकका रुपमा। अहिले माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर नयाँ पार्टी बनिरहेका बेला विचार निर्माण र संगठन निर्माण दुबैमा मदन–आश्रितको मार्गदर्शन अझ सान्दर्भिक भएको छ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमलाई २०५४ सालदेखि नेकपा एमालेले मार्गदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्यो। यसबीचका २६ बर्षमा मदन भण्डारीबारे धेरै विचारविमर्श र शोधकार्यहरु भएका छन्। मदन भण्डारीका राजनीतिक योगदानलाई रेखांकित गर्ने ठोस विषयहरु छन्।

मूल रुपमा विश्वभर रक्षात्मक हुँदै गएको वामपन्थी आन्दोलन नेपालमा भने निरन्तर उचाई ग्रहण गर्दै गरेको प्रभावका मुख्य आर्किटेक्टका रुपमा मदन भण्डारीको सम्झना गर्नुपर्छ। वामपन्थी आन्दोलनको लोकतान्त्रिकरण गर्दै नेपाली समाजको समेत लोकतान्त्रिकरण गरेर कम्युनिस्ट पार्टीहरु उदार प्रजातन्त्रभित्र कसरी प्रभावशाली रहन सक्छन् भन्ने प्रमाणित गर्नु नै मदन भण्डारीको सार्थक योगदान हो।

मदन भण्डारीले समाजवादसम्म पुग्ने बाटो निर्दिष्ट गर्दै कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणमा जोड दिएका छन्। जबसम्म कम्युनिस्ट पार्टीहरु लोकतान्त्रिक विधि र मान्यतामा चल्दैनन्, तबसम्म उनीहरुले जनताका लोकतान्त्रिक अधिकारको संरक्षण गर्न सक्दैनन्। त्यसैले मदन भण्डारीको नेतृत्वमा स्थापित नेकपा एमालेले पार्टी संगठनभित्र एक पटक नेतृत्वको पदमा पुगेपछि फेरि आउन चाहे पुनः आन्तरिक निर्वाचनबाट चुनिनै पर्ने विधि अवलम्बन गरेको थियो। समाजवादमा पुग्न चाहने कार्यकर्तामा आधारित संगठनलाई चलायमान राख्न मदन भण्डारीले पहिल्याएको यो बाटो कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरण हुने लोकतान्त्रिक विधि हो। तसर्थ मदन भण्डारी माक्र्सवादी सिद्धान्तका प्रखर प्रयोगकर्ता, दृढ कम्युनिस्ट नेता र समाजवाद स्थापनाको नेपाली मार्गचित्र अर्थात जनताको बहुदलीय जनवादको खाका कोर्ने विचारक हुन्।

मदन भण्डारीको योगदान र पहिचानको चर्चा गर्दा भुल्न नहुने दोस्रो महत्वपूर्ण विषय नेपाली कम्युनिस्टहरुलाई नेपाली सन्दर्भमा क्रान्तिको रणनीति र कार्यनीतिको स्पष्ट दिशाबोध नै हो। करिब १४ वर्ष मदन भण्डारीसँगको सहकार्यबाट मैले बुझेको उनको एउटा ठोस योगदान हो यो।

नेपाल कम्युनिस्ट पार्टीको जन्म २००६ सालमा भएयता पार्टीका सबै घटकले निरंकुशता विरोधी प्रजातान्त्रिक आन्दोलनहरुमा अग्रपंक्तिमा रहेर संघर्ष गरेका छन्। शान्तिपूर्ण आन्दोलनमा सहभागी भएपनि सबै कम्युनिस्ट घटकले सशस्त्र संघर्षको आवश्यकतालाई भुल्न सकेका थिएनन्। हतियारबिना जनवाद प्राप्ति असम्भव हुने सोचले शान्तिपूर्ण जनसंघर्षका उपलब्धीको रक्षा र विकासमा कम्युनिस्ट नेताहरुबीच स्पष्टता थिएन। यसरी हेर्दा लोकतन्त्र रणनीतिकमात्र हुनजाने तथ्यप्रति हतियार मोहले आँखा चिम्लने अवस्था निर्माण भैदियो। नेपाली समाजको चरित्र, नेपालको भौगोलिक अवस्थिति अनि जनताको आर्थिक सामाजिक बनावटको यथार्थपरक विश्लेषणको साटो कम्युनिस्टहरु रुस वा चीनका परिघटनाबाट ज्यादा प्रभावित भए।

रुस र चीनको क्रान्तिकै मोडलमा अल्मलिएका कम्युनिस्ट पार्टीलाई राष्ट्रिय यथार्थको धरातलमा माक्र्सवादको प्रयोगप्रति चासो रहेन। फलतः सबैले समाजवाद प्राप्तिलाई आ–आफ्नै फरक तथा कतिपय अवस्थामा मनोगत अवाधारणाका आधारमा ध्येय बनाए। यहि कारण नेपालको कम्युनिस्ट आन्दोलन विभाजित हुन पुग्यो। लोकतान्त्रिक आन्दोलनमा सहभागी हुने तर लोकतन्त्रका स्थापित मान्यताको स्वामित्व र संरक्षणमा चासो नदिने प्रबृत्ति हावी भयो। यस परिस्थितिका बीचबाट मदन भण्डारीले नेपालको वाम पक्षीय राजनीतिक आन्दोलनलाई विश्व कम्युनिस्ट आन्दोलनले व्यहोरेको धक्काबाट शिक्षा लिएर ठोस रुपमा लोकतन्त्रको पक्षमा उभ्याए। मदन भण्डारीको विश्लेषण के रह्यो भने प्रजातन्त्र र मानवअधिकार नेपाली जनताको निरन्तर संघर्ष र त्यागबाट प्राप्त उपलब्धी हुन्। तिनको रक्षा एवं विकास गर्नु कम्युनिस्ट पार्टीको अभिभारा हो।

नेपालकै धरातलीय वास्तविकतामा शान्तिपूर्ण जनआन्दोलनका माध्यमबाट ठूला राजनीतिक परिवर्तन सम्भव छन् भन्ने यथार्थबोध मदन भण्डारीले कम्युनिस्ट पार्टीलाई गराए। नेपालले अन्य मुलुकका क्रान्तिको नक्कल गर्नु हुँदैन, त्यो सम्भव हुँदैन भन्ने मदनको विचारले माक्र्सवादको सिर्जनात्मक प्रयोगलाई आत्मसात गर्दछ।

मदनलाई सम्झिँदा, उनको तेस्रो प्रमुख योगदान भनेको सामाजिक न्याय, आधारभूत मानवअधिकार, खुला समाज र कानुनको शासन जस्ता लोकतान्त्रिक अवाधारणालाई कम्युनिस्ट पार्टीले निसंकोच अवलम्बन गर्नुपर्छ भन्ने मान्यताको सैद्धान्तिकरण हो। नेपालमा निरंकुशता, सामन्तवाद, साम्राज्यवाद र अरु सामाजिक उत्पीडनबिरुद्ध विभिन्न दलहरुले संघर्ष गर्दै आएका छन्। माक्र्सवादी सिद्धान्तले के मान्दछ भने समाजमा बर्गहरु विद्यमान रहेसम्म तिनका प्रतिनिधि दलहरु रहन्छन्। त्यसैले, प्रजातन्त्र र मानव अधिकारका मूलभूत मान्यतालाई स्वीकार गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी राष्ट्रिय स्वाधीनताका पक्षधर दलहरुको सहकार्यबाट समाजवाद सम्मको यात्रा तय गर्न सकिन्छ। यसरी सहकार्य गर्न दलहरूबीच मानवअधिकारका समग्र पक्ष अर्थात आर्थिक–सामाजिक–साँस्कृतिक अधिकार अनि सामाजिक न्यायप्रति प्रतिबद्ध हुनुपर्दछ।

मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई व्याख्या गरेर जनताको आन्दोलनले स्थापित गरेका अधिकारहरु संविधानमा लिपिबद्ध गरिनुपर्दछ र तिनको कार्यान्वयन जनताद्वारा निर्वाचित प्रतिनिधि संस्थाले निर्माण गर्ने कानुन अनुसार सरकारले कार्यान्वयन गर्नुपर्दछ भन्ने मत स्थापित गरे। मदनको भनाइ थियो– क्रान्तिकारी व्यवस्थामा संविधान अनुरुपको राज्य र कानुन अनुरुपको शासन हुनुपर्दछ।

जनताको बहुदलीय जनवादले यसबारे थप विश्लेषण गर्दै अगाडि स्पष्ट गरेको छ–कुनैपनि राजनीतिक प्रणालीलाई संविधानले परिभाषित गर्नुपर्दछ। त्यो परिभाषाभित्र शासकको रुपमा राजनीतिक पार्टीहरु जतिसुकै फेरिएपनि त्यसले प्रणालीलाई निर्णायक हानि गर्दैन। यसले बहुदलीय जनवादलाई संवैधानिक सुरक्षाको प्रत्याभूति गर्दछ।

कुशल वक्तृत्वकला मदनको ठूलो क्षमता हो। कम्युनिस्ट दर्शन र साहित्यसँगै पूर्वीय दर्शन र संस्कृत अध्ययनको फराकिलो दायराले उनको बौद्धिक राजनीतिक क्षमता माझिएको थियो। त्यसैले सिद्धान्तका रुखा केस्रालाई उनी जनताको भाषामा बोल्न सक्थे। यहि क्षमताले एकैदिन धेरै ठाउँमा गरिने उनका भाषणका विषय दोहोरिंदैनथे, वा दोहोरिने विषयलाई फरक प्रसङ्ग र शब्दमा व्यक्त गर्थे। त्यसैले उनलाई सुनेर कहिल्यै पुग्ला जस्तो लाग्दैन।

यसैकारण धेरैले मदनलाई चमत्कारिक नेताका रुपमा मान्छन् भने कतिपयले निरङ्कुश राजतन्त्रलाई खुला चुनौती दिने निडर नेताका रुपमा सम्मान गर्छन्। मदन भण्डारीका अनुयायी वाम कार्यकर्ताहरु आफ्नो मार्गदर्शक सिद्धान्तको प्रणेताका रुपमा उनलाई याद गर्छन्। उनको राजनीतिक प्रभावले दलीय सिमाना तोडेको देखिन्छ।

२६औं स्मृति दिवसमा आइपुग्दा मदन भण्डारीको सोचले राष्ट्रिय राजनीतिमा पारेको प्रभाव र ल्याएको परिवर्तनबारे विमर्श हुनुपर्छ। संसारभर नै आफ्नो विचार र सोचले उच्चता प्राप्त गरेका नेताहरूको सम्झना गरिंदा उनीहरुका कार्यको मूल्यांकन भै नै रहेको हुन्छ।

सारमा मदन भण्डारीका सिद्धान्तलाई मुख्य रुपले चार बुँदामा संश्लेषित गर्न सकिन्छ। पहिलो, शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट क्रान्तिकारी व्यवस्थाको स्थापना गर्न सकिन्छ। दोस्रो, क्रान्तिबाट स्थापित प्रणालीमा जनताका आधारभूत मानवअधिकार र लोकतन्त्रको ग्यारेन्टी हुन्छ। तेस्रो, लोकतान्त्रिक विधिबाट संचालित हुने दलले समाजवाद स्थापना गर्न जनताको विश्वास आर्जन गर्न सक्छ। र चौथो, कम्युनिस्ट पार्टीले आधुनिक लोकतन्त्रका मान्यतालाई आत्मसात गर्दै आफुलाई पनि लोकतन्त्रको साँचोमा ढाल्नुपर्छ।

एमाले र माओवादी मिलेर बनेको नेकपाका लागि यी चारै विषय दूरगामी महत्वका छन्।