मदन–आश्रितका कलेजो र मुटुका टुक्रा अझै सुरक्षित छन् प्रयोगशालामा

काठमाडौं,३ जेठ ।  हिन्दू धर्मावलम्बी जब कोही मानिसको मृत्यु हुन्छ, हिन्दू धार्मिक परम्परा अनुसार उसलाई नदीको किनारामा लगेर जलाइन्छ। शरीर जलिसकेपछि त्यो खरानी पानीमा बगाइन्छ।

मृतक उच्च राजनीतिक व्यक्तित्व हो भने, यो हिन्दू धार्मिक संस्कारमा थोरै राजनीतिक संस्कार पनि मिसिन्छ। अर्थात्, शरीर जलेपछि बाँकी रहेको खरानीको केही अंश सुरक्षित राखिन्छ। र, जिल्ला–जिल्ला पुर्याएर नदीमा लगी अस्तु सेलाउने काम गरिन्छ।

अस्तुलाई मृतकको शरीरको अन्तिम अवस्था मान्ने मान्ने प्रचलन छ। अस्तुपनि सेलाएपछि सो व्यक्तिको अस्तित्व पूर्णरुपमा हावा–पानी र माटोमा मिलेको मानिन्छ।

३ जेठ ०५० मा चितवनका दासढुङ्गामा भएको रहस्यमय दुर्घटनामा तत्कालिन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र जीवराज आश्रितको दुखद निधनभएपछि एमालेले पनि त्यही गर्यो। पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएका नेताद्वयको अस्तु जिल्ला–जिल्लामा पुर्यायो, नेताद्वयप्रति सम्मान प्रकट गर्दै अस्तु सेलाइयो।

लाग्न सक्छ, अन्तिम संस्कार गरिएपछि मदन–आश्रितको भौतिक शरीर त रहेन नै, शरीरको खरानीपनि बाँकी रहेन।

तर, यो अनुमान गलत हो।

दासढुङ्गा दुर्घटनामा ज्यान गुमाएपछि मदन–आश्रितको शरीर जलेर खरानी भएको पनि २५ बर्ष बितिसकेको छ। तर, नेताद्वयका शरीरका केही महत्वपूर्ण अंगका केही अंश भने अहिले पनि सुरक्षित छन्।

खुमलटारमा रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नेताद्वयको रगत, मुटु, कलेजो, फोक्सो र मृगौलाका केही अंश सुरक्षित राखिएका छन्।

‘हो, मदन र आश्रितका शरीरका केही टुक्रा (भिसेरा) अझै सुरक्षित छन्’ प्रयोगशाला प्रमुख वीरेन्द्र शाक्यले नेपालखबरसँग भने, ‘प्रयोगशालामा केही बर्षदेखि बट्टामा तिनलाई सुरक्षित राखिएको छ।’

मदन–आश्रितको तस्वीरमा माल्यार्पण गर्दै विद्या भण्डारी

मदन–आश्रितको तस्वीरमा माल्यार्पण गर्दै विद्या भण्डारी

पोखराबाट चितवन जाने क्रममा ३ जेठमा चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा नेताद्वयको निधन भएको थियो। तर, यसलाई सामान्य दुर्घटना मान्न एमालेमात्र होइन, सर्वसाधारण नेपाली जनतापनि तयार भएनन्। मदन–आश्रितको शरीरका महत्वपूर्ण अंगका टुक्राहरु अहिलेसम्म सुरक्षित हुनुको कारण यही हो।

तत्कालिन एमालेले त्यो रहस्यमयी दुर्घटनालाई षडयन्त्र ठहर गर्यो। दासढुङ्गा दुर्घटनाको निष्पक्ष छानविनको माग पनि उसले गर्यो। न्यायिक छानविनको माग गर्दै उसले ठूल्ठूला आन्दोलन पनि सञ्चालन गर्यो।

सडकबाट नारायणी नदीमा जीप खसेपछि नेताद्वयको मृत्यु भएको थियो। तर, भण्डारी शवको पेटमा त्यति धेरै पानी नभरिएको भेटिएपछि उनको पहिल्यै हत्या गरिएको आशंकालाई बल पुग्यो। ‘कतै विष खुवाएर पो उनको हत्या गरिएको हो कि?’ एमालेको आन्दोलनपछि बनेका दुई वटा न्यायिक आयोगले एमालेले गरेको आशंकाको कोणबाट पनि अनुसन्धान गरे।

गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पहिले न्यायाधीस प्रचण्डराज अनिलको अध्यक्षतामा न्यायिक आयोग बनायो। निधन भएका नेताद्वयको शरीरमा विषको मात्र छ कि छैन, त्यसको वैज्ञानिक अनुसन्धान आयोगले गर्नुपर्ने भयो।

प्रयोगशाला प्रमुख शाक्यका भनाईमा, मृतकको शरीरको पोष्टमार्टम गर्ने बेलामा शरीरको अंगका केही टुक्रा काटेर राखिएको हुन्छ। त्यसै अनुसार मदन–आश्रितको शवको पोर्टमार्टमपछि शरीरका अंगका टुक्रापनि त्यसै क्रममा सुरक्षित राखिएका थिए।

दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो। नयाँदिल्लीमा गरिएको भिषेरा अध्ययनले के देखायो भने, नेताद्वयको शरीरमा विषको मात्रा छैन।

भिषेराको त्यही अध्ययन र हत्या नै हो भन्ने अन्य प्रमाण नजुटेको भन्ने तर्कका आधारमा अनिल आयोगले दासढुङ्गा दुर्घटनालाई सडक दुर्घटना हो भन्ने निष्कर्ष सहितको प्रतिवेदन दियो।

तर, दासढुङ्गा दुर्घटनालाई सामान्य दुर्घटना मान्न एमाले पंक्ति तयार थिएन। एमालेको ठहर त्यो षडयन्त्रमूलक हत्या हो भन्ने थियो। एमालेका नेताहरु अहिले पनि यही अडानमा छन्।

महाकाली सन्धिमा राष्ट्रघात भएको ठहर गर्दै भण्डारीको नेतृत्वमा एमालेले महाकाली सन्धि विरोधी आन्दोलन गर्नु, चीन भ्रमणबाट फर्केको दुई महिनामै दुर्घटना हुनु, विश्वभर कम्युनिष्टहरु प्रतिरक्षात्मक स्थितिमा रहेका बेला नेपालमा चाहिँ भण्डारीको नेतृत्वमा एमाले शक्तिशाली बन्दै जानु आदि कारण एमालेले मदन–आश्रितको हत्या बैदेशिक शक्तिहरुको षडयन्त्रबाट सडक दुर्घटनाबाट गराएर भएको निष्कर्ष निकालेको थियो।

सामान्यतया विधिविज्ञान प्रयोगशालामा लगिएका भिषेरा तीन महिनापछि नष्ट गरिन्छन्। पोष्टमार्टमपछि भिसेरा प्रहरीको प्रयोगशालाबाट त्यहाँ पुगेको हुन्छ। विधिविज्ञान प्रयोगशालाले परीक्षण गरेर प्रतिवेदन दिएपछि ती भिषेरा नष्ट गरिन्छ। प्रयोगशालामा बर्षेनी पुग्ने सयौँ भिषेरा यही प्रक्रियाबाट नष्ट गरिन्छन्।

तर, मदन–आश्रितको भिसेरा नष्ट गर्ने होइन, त्यसलाई जोगाएर राख्नुपर्ने स्थितिमा प्रयोगशाला पुग्यो।

भयो के भने, अनिल आयोगको प्रतिवेदन अस्वीकार गर्दै एमालेले आन्दोलन जारी राख्यो। आन्दोलनमा थुप्रै नागरिक मारिए। एमालेको माग थियो, अर्कै न्यायाधीसको नेतृत्वमा फेरि न्यायिक आयोग गठन गर्नुपर्छ। एमालेले त मदन–आश्रितको ‘हत्या’ मा कोइरालाकै समेत हात रहेको आरोप लगाउन थालिसकेको थियो।

एमालेले आन्दोलन चर्काउँदै लगेपछि र दमनका क्रममा थुप्रै नागरिक मारिएपछि कोइराला नेतृत्वको सरकारले न्यायाधीस त्रिलोकप्रताप राणाको अध्यक्षतामा अर्को न्यायिक आयोग गठन गर्यो।

मदन–आश्रितको ‘हत्या’ मा भारतकै संलग्नता रहेको आरोप समेत एमाले नेताहरुले लगाएका थिए। तर अनिल आयोगले परीक्षणका लागि भिषेरा नयाँदिल्ली (भारत) पठाएको थियो।

फेरि, भारतमै परीक्षणका लागि लगिँदा त्यसका दुई परिणाम हुन्थे। एक, परीक्षण प्रतिवेदन त्यस्तै आउने आउने पक्का थियो, जस्तो पहिले आएको थियो। दुई, त्यसलाई फेरि एमालेले अस्वीकार गर्न सक्थ्यो।

त्यसैले, राणा आयोगले भिसेरा परीक्षणका लागि लण्डन पठाउने निर्णय गर्यो। आयोगका अधिकारीहरु भिसेरा लिएर लण्डन पुगे। साथमा, एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका चिकित्सक डा भरत प्रधानपनि लण्डन गए।

तर, लण्डनमा गरिएको परीक्षणबाट पनि मदन–आश्रितको मृत्यु विष प्रयोगबाट भएको प्रमाण जुट्न सकेन। तैपनि, एमालेको मनोविज्ञानको सम्बोधन गर्दै राणा आयोगले ‘सो दुर्घटनाको छानविन गर्नुपर्ने आसय’ प्रतिवेदनमा समावेश गर्यो।

त्यसपछि एमाले चुप लाग्यो। एमाले नेताहरुले अहिलेपनि दासढुङ्गा दुर्घटनालाई षडयन्त्र र हत्या दावी गर्नु राणा आयोगको प्रतिवेदनमा समेटिएको सोही ‘आसय’ हो।

राणा आयोगको प्रतिवेदनपछि एमाले नेताहरु चुप लागेपनि उनीहरुले आफू सत्तामा पुगेपछि दासढुङ्गा घटनाको छानविन गरी दोषी पत्ता लगाउने भाषण गर्न थाले। लण्डनबाट परीक्षण गरी ल्याइएका भिषेरा फेरि विधिविज्ञान प्रयोगशालामै सुरक्षित थिए।

‘हाइप्रोफाइल नेताहरुको भिषेरा हो त्यो, त्यसैले त्यसको सम्वेदनशीलता मध्यनजर गर्दै हामीले त्यसलाई प्रयोगशालाको ‘कोल्ड रुम’ मा सुरक्षित राख्यौँ’ प्रयोगशालाकी पूर्वप्रमुख भिनुशोभा तुलाधरले नेपालखबरसँग भनिन्, ‘हामीले त्यसलाई नष्ट गर्न माथिल्लो निकायमा अनुमति मागेका थियौँ। तर, त्यो अनुमति कहिल्यै प्राप्त भएन।’

तुलाधरले विधिविज्ञान प्रयोशालाबाट केही बर्षअघि अवकास प्राप्त गरिन्। नयाँ प्रमुख बनेर शाक्य आए। मदन–आश्रितको निधन भएयता हजारौँ मृतकहरुको पोष्टमार्टमपछि तिनका भिषेरा परीक्षणका लागि त्यहाँ पुगेका छन्। त्यसैले, त्यहाँ के-कस्का भिषेरा छन्, ख्याल गरिरहने कुरा भएन।

३ जेठमा मनाइने मदन–आश्रितको स्मृति दिवसमा बाहेक तत्कालिन एमाले (हाल नेकपा) नेताहरुले पनि खासै त्यो घटना सम्झन्नन्। सरोकारवाला पार्टीले समेत बिर्सिसकेको कुरा सरकारी निकायले सम्झेर बस्ने कुरापनि भएन।

त्यसैले, भिषेराको अवस्थाबारे बुझ्न मंगलबार (३१ बैशाख) प्रयोगशाला पुग्दा प्रमुख शाक्यले भने, ‘नष्ट गर्ने निर्णय म प्रमुख हुनुभन्दा धेरै पहिले भएको हो। त्यसैले, म प्रमुख हुनुभन्दा पहिल्यै ती नष्ट भइसके।’

पाँच बर्षअघिको कुराकानीमा तत्कालिन प्रमुख तुलाधरले भनेकी थिइन्, ‘भिषेरा राखिएको धेरै बर्ष भइसक्यो, जुन प्रयोजनका लागि ती भिषेरा राखिएको हो, अब परीक्षण गर्ने हो भने त्यसको उद्देश्य पुरा हुँदैन। ‘त्यसैले, हामी छिट्टै तिनलाई नष्ट गर्ने प्रक्रियामा जान्छौँ।’

तिनलाई नष्ट गर्न प्रयोगशालाकी पूर्व प्रमुख तुलाधरको पालामा पटक पटक पत्राचार भएको वर्तमान प्रमुख शाक्यलाई जानकारी थियो। त्यसैले, शाक्यले तिनलाई नष्ट गरिसकिएको हुनसक्ने अनुमान गरेका थिए।

तर, उतिबेलाको कुराकानीमा शाक्यले के पनि बताएकी थिइन् भने, ‘तिनलाई नष्ट गर्दा सिर्जना हुनसक्ने राजनीतिक परिणाम र नष्ट गर्न पटक पटक गरिएको पत्राचारका बाबजुद पनि अनुमति प्राप्त भइरहेको छैन। अनुमति प्राप्त हुनासाथ तिनलाई हामी नष्ट गर्छौं।’

तर, मदन–आश्रितको भिषेरा नष्ट गर्ने अनुमति दिने आँट कसले गर्ने?

यही तथ्यबार जानकारी गराएपछि शाक्यले भिषेरा रहे–नरहेकोबारे बुझबुझारथका लागि कर्मचारी खटाए। बुधबार (१ जेठ) मा उनले फोनबाट जानकारी गराए, ‘मदन–आश्रितको भिषेरा हाम्रो प्रयोगशालामा सुरक्षित छ। तर, तिनको परीक्षण र त्यसबाट कुनै परिणाम आउने भएकाले सुरक्षित राखिएको भने होइन।’

पूर्व प्रमुख तुलाधर र वर्तमान प्रमुख शाक्य दुबैले ‘भिषेरा काम लाग्ने हालतमा नरहेको’ बताउनुको पनि कारण छ।

पछिसम्म अनुसन्धान गर्न सकिने गरी सुरक्षित राख्न भिषेरालाई विशेष कक्षमा राख्नुपर्छ। प्रयोगशालामा त्यस्तो विशेष कक्ष छ पनि।

तर, प्रयोगशालाले ‘कोल्ड रुम’ भन्ने गरेको त्यो विशेष कक्षका केही उपकरणहरु केही बर्षअघि बिग्रिए। तिनको मर्मत-सम्भारका लागि समयमै बजेट प्राप्त भएन। जुन तापक्रममा भिषेरा राख्नुपर्ने हो, त्यो नभएपछि त्यहाँ शीषाका बट्टामा राखिएका नेताद्वयका शरीरका अंगपनि परीक्षण गर्न नमिल्ने गरी बिग्रिए।

अहिले ती उपकरणको मर्मत सम्भारपछि सञ्चालनमा त छन्। त्यहाँ भिषेरा सुरक्षित पनि छन्। तर, परीक्षण गर्नैपर्यो भने, तिनले कुनै परीणाम दिन सक्ने हालतमा छैनन्।

आज ३ जेठ। आज नेकपाले मदन–आश्रित दिवस र एमाले–माओवादी केन्द्रबीच एकता भएको पहिलो बार्षिकोत्सव मनाउँदैछ। त्यस अवसरमा नेताहरुले मदन–आश्रितको स्मरण गर्नेछन्, यसअघिझैँ यस वर्षपनि त्यसलाई ‘हत्या’ दावी गर्दै ‘उचित समयमा छानविन गरिने’ पनि बताउनेछन्।

मदन–आश्रितका शालिकमा माल्यार्पणका साथ मुठ्ठी उचालेर दिवंगत नेताद्वयप्रति श्रद्धा प्रकट गर्ने रितिले पनि निरन्तरता नै पाउनेछ।

तर, नेताद्वयको सुरक्षित भिषेराको व्यवस्थापन गर्नेतिर भने नेकपा र तिनका नेताहरुको ध्यान फेरि पनि जानेछैन।