मदन भण्डारीकाे लाश सेनाले त्रिशूलीमा बगाउन लागेपछि…..

चितवन, ०२ जेठ। २०५० साल जेठ ४ गते। चितवनको चर्को घाम। विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौं। नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नु पथ्र्यो। त्यस बेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो। छप्की जालमा माछा पर्दै थियो।

म (हेमबहादुर थापा मगर) अरु साथी भन्दा अघि थिएँ। जाल हान्दै जति अघि अघि जान्थें त्यति नै धेरै काभ्रे माछा पर्दै थियो। मेरा आँखा दुई चट्टानका बीचमा एउटा मुढा जस्तो देखिने वस्तुमा पर्यो। मलाई लाश हो कि भन्ने लाग्यो। साथीहरुलाई लाश देखेको खबर गरें। लाशको नजिकै पुगें।

घोप्टो अवस्थामा लाश अड्किएर बसेको पाएँ। पानीको माथिको सतह भन्दा आधा फिटमा लाश डुबेको थियो। अनि साथीहरु र म भएर बाँसको भारोको सहयोगमा नदी किनारमा निकाल्यौं। लाशलाई ओल्टाइ पोल्टाइ हेर्‍यौं। आँखाको नानीमा बाहेक अन्य ठाउँमा चोट थिएन।

लाश हेर्दा लाग्थ्यो, उठेर बोल्छ जस्तो। एकदमै फ्रेस। शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो, पाइण्ट भने थिएन। दुवै खुट्टामा मोजा थिए। लाश पाए पनि मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको छ भन्ने थाहा थिएन। त्यही बेला चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका चार जना नेपाली सेना आइ पुगे। उनीहरुले लाश हेरे। सेनाहरुलाई मदन भण्डारीको मृत्युबारे थाहा रहेछ। हेरे पछि सेनाहरुले कालो छ, कुनै भारतीय हुन सक्छ भने। लाशलाई बगाउन लागे। हामीले बगाउन दिएनौं।

जेठ ४ गते लाशलाई नदी किनारमै छाडेर घर फर्कियौं। घरमा बाजेलाई लाश भेट्टाएको बताएँ। बाजेले शायद मदन भण्डारीको लाश होला भने। उनले पुलिसलाई खबर गर्न भने तर पुलिसलाई खबर गर्ने आँट गरिनँ। जेठ ५ गते कुलो खन्दै थिएँ। दासढुङ्गाबाट एउटा टोली पौडी खेल्न जान्ने मान्छे खोज्दै गाँजीपुर आइ पुगेछ। टोलीसँग मेरो बुबाको भेट भएछ। बुबाले हाम्रा छोराहरुले ९मैले० लाश भेट्टाएको टोलीलाई जानकारी दिएछन्।

लगत्तै टोलीसँग हामी काठेडुङ्गा लिएर लाश भएको ठाउँ पुग्यौं। नभन्दै त्यो लाश नेता मदन भण्डारीको रहेछ। डुङ्गामा लाश हालेर वारी आयौं जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनि रहेको छ। फर्केर आउँदा मान्छे चौरमा अटाएका थिएनन्।

ठूलो मेला लागेको जस्तो भीड। अनि पत्रकारहरुले मलाई सोधी खोजी गर्न लागे। जिल्ला प्रशासनबाट आएका कर्मचारीहरुले पनि सोध्न लागे । धेरै दिनसम्म मलाई र मेरा अरु तीन जना साथीलाई घटनाबारे मान्छेहरुले सोधि रहे। ठूलो मान्छेको लाश भेटेकोमा आफूलाई भाग्यमानी र अभागी दुवै ठान्छु। अहिले पनि ती घटनाक्रमहरु मेरो आँखा अगाडि घुमि रहन्छ। १८ वर्षको हुँदा लाश भेटेको थिएँ। अहिले ४३–४४ वर्ष पुगें।

त्यति ठूलो नेताको लाश भेटाउँदा मलाई पक्कै सरकारले नेपाली सेनामा जागीर दिन्छ कि भन्ने लाग्यो। त्यस समयमा सिपाहीको लाश भेटाउने मान्छेले नेपाली सेनामा जागीर खान पाउँथे। कुरा पनि चलाएँ तर भएन। अनि म वैदेशिक रोजगारीका लागि साउदी अरब लागें। १२ वर्ष साउदी बसेर नेपाल फर्किएँ। अहिले विदेशबाट फर्किएको ११ वर्ष भयो। एउटा ट्रयाक्टर किनेको छु।

आर्थिक अवस्था कमजोर नै छ। मसँगै लाश भेटाएका किसान ठकुरी नेपालमै छ। श्यामबहादुर थापा मगर साउदी र टेकबहादुर आले चाहिँ मलेसियामा छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्ककै विकासको योजना सहित डेलिगेशनमा काठमाडौँ जाँदा भेट भयो। मलाई अरुले लाश भेटाउने मान्छे यही हो भनेर चिनाई दिए। म विदेश भएको समयमा मेरो प्रशंसापत्र बुवालाई प्रदान गरिएको रहेछ। अहिले त्यो प्रशंसापत्र जतन गरेर राखेको छु।

मेरो इच्छा भनेको सरकारले गाँजीपुरलाई नमूना बस्तीका रुपमा विकास गरोस् भन्ने छ। अनि अहिले नेकपाकै सरकार छ, स्व. मदन भण्डारीकी धर्मपत्नी देशको राष्ट्रपति हुनुहुन्छ। मलाई नभए पनि मेरा छोराछोरीलाई अवसर दिए हुन्थ्यो भन्ने लाग्छ। रासस