निकुञ्जको हस्तक्षेप विरुद्ध मृगकुञ्जको कार्यालयमा ताला

रत्ननगर ०१ जेठ। चितवन निकुञ्जको सौराहा सेक्टरको हस्तक्षेपको विरुद्धमा सौराहाका महिला नेचरगाइडहरुले मध्यवर्तीको कार्यालयमा बुधवार तालाबन्दी गरेका छन । महिला नेचर गाइड समुहले मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालबन्दी गरेका हुन । मृगकुञ्ज उपभोक्ता समिति अन्तर्गतको सामुदायिक सीप केन्द्रमा बोर्ड र टेवल राखेर व्यवहारिक ज्ञान सिक्दै गरेका महिला नेचरगाइडहरुको काममा निकुञ्जले हस्तक्षेप गरेको छ । निकुञ्जले महिला नेचरगाइडहरुले राखेको बोर्ड र टेवल नियन्त्रणमा दिएको बताइएको छ । सपना भिलेज सोसल इम्प्याक्टको आर्थिक सहयोगमा सीप केन्द्रले मध्यवर्ती क्षेत्रका १९ जना महिलाहरुलाई नेचर गाइड तालिम दिएको थियो । तालिम अन्तिम चरणमा आइरहदा महिला नेचर गाइडहरुले सीप केन्द्रमा एउटा बोर्ड र टेबल राखेर व्यवहारिक ज्ञान सिक्दै आएका थिए । निकुञ्जको सौराहा सेक्टर कार्यालयले उनीहरुले राखेको बोर्ड र टेवल नियन्त्रणमा दिएपछि आक्रोसित बनेका महिला नेचरगाइडहरुले मध्यवर्तीको कार्यालयमा तालाबन्दी गरेका हुन । हामी केही सिक्न भनेर सीप केन्द्रको आगन प्रयोग गरेर बसेका थियौं समुहकी अध्यक्ष गोमा थापाले भनिन् हामीलाई निकुञ्जले लखट्ने काम गरेको छ । सीप केन्द्रका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले निकुञ्जले महिला नेचर गाइडको काममा हस्तक्षेप गरेको बताए ।