झापा ११ भरतपुर गोल्डकपको सेमीफाइनल प्रवेश

चितवन, ३० बैशाख । चितवनको नारायणगढमा जारी भरतपुर गोल्डकप अन्तर्गत आज भएको खेलमा विजयी हुँदै झापा ११ सेमीफाइलनमा प्रवेश गरेको छ ।
झापा ११ ले च्यासल युथ क्लब विरुद्ध २–१ गोल अन्तरको जीत हात पारेको हो । । झापा ११ र च्यासल युथबीच आइतबार भएको क्वार्टर फाइनल खेल हावाहुरीका कारण स्थगित गरिएको थियो । आइतबार रोकिएको खेल आज बिहान खेलाइएको थियो ।
आजको खेलमा च्यासल युथ क्लबका सुशील राई म्यानअफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । बैशाख ३१ गते बीरगञ्ज युनाइटेड र एपीएफ क्लबबीचको खेलमा विजयी हुने टीमसँग झापा ११ ले जेठ २ गते सेमीफाइनल खेल्नेछ । एजे इन्टरनेशनल प्रालिको आयोजनामा सुरु भएको प्रतियोगतामा विभिन्न १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टिमले ६ लाख रुपैयाँ सहित गोल्डकप तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
विभिन्न चार वटा विधामा सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँका दरले पुरस्कार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ र प्रत्येक दिन म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता अन्तर्गत आज आज साँझ शंकटा क्लब र जावलाखेल युथबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको फाइनल जेठ ४ गते हुने कार्यक्रम संयोजक प्रकाश भुजेलले बताए ।