नगरवासीको घेराबन्दीमा सुनवलका जनप्रतिनिधि

नवलपरासी, बैशाख २९ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नगरसभा चलिरहेको समयमा जनप्रतिनिधि नागरिकको घेराउमा परेका छन्।

सुनवल नगरपालिकाले वडा नम्बर ८ मा रहेको सुनवल स्वास्थ्य चौकीको लागि स्वास्थ्य मन्त्रालयबाट विनियोजित रकम जनप्रतिनिधिले आफ्नो स्वार्थअनुरूप अन्यत्र लैजाने निर्णय गरेको भन्दै वडा नम्बर ७ र ८ बाट आएका सयौं नागरिकको समूहले नगरसभामा सहभागी जनप्रतिनिधिहरुलाई घण्टौंसम्म घेराबन्दी गरेर नियन्त्रणमा राखेका हुन्।

स्वास्थ्य मन्त्रालय मार्फत सुनवल स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी १५ शैय्याको अस्पताल बनाउने निर्णय गरी बजेट विनियोजन गरेकोमा जनप्रतिनिधिले वडा नम्बर ३ र ५ को बीचमा पर्ने मिनि बनकट्टीमा निर्माण गर्ने निर्णय गरेपछि वडा नम्बर ७ र ८ का स्थानीय आन्दोलनमा उत्रिएको सुनवल ७ ज्यामिरेका स्थानीय नारायण आचार्यले बताए।

स्थानीयलाई कुनै जानकारी नगराई नगर प्रमुख भीमबहादुर थापाले स्वास्थ्य मन्त्रालयबाट आएको पत्र नगरपालिकामा ल्याएर वडा नम्बर ७ र ८ का स्थानीयको हितविपरीत अन्यत्र सार्ने  प्रयत्न गरेको भन्दै नगरसभा चलिरहेको स्थल देवकोटा क्याम्पस हाताभित्र रहेका जनप्रतिनिधिलाई वडा नम्बर ७ र ८ बाट पुगेका स्थानीयले नगरसभा स्थललाई घेरा हाली नियन्त्रणमा राखेका थिए।

यसै पनि विकासको गतीले पछाडि रहेको वडा त्यसैमाथि आएको विकास योजना पनि अन्यत्रै सार्न खोजेको भन्दै स्थानीयले घन्टौसम्म नाराबाजी गर्दै आक्रोश ब्यक्त गरेका थिए।

उनीहरूले नगर प्रमुख र उपप्रमुखले व्यसिक्तगत स्वार्थका कारण अस्पताललाई अन्यत्र सार्ने खेल खेलेको आरोप लगाउँदै जनभावनाविपरीत अस्पतालको योजना अन्यत्र सारिए आफूहरूलाई मान्य नहुने चेतावनी दिएका थिए। नगरसभा चलिरहेको स्थानमा पुगेर स्थानीयले घेराबन्दी गरी नाराबाजी गर्न थालेपछि उक्त स्थानमा सुरक्षा व्यवस्था कडा परिएको थियो।