‘टोले गुण्डा’ नियन्त्रण प्रहरीको पहिलो प्राथमिकता

 काठमाडौं बैशाख २९ । महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय अपराध महाशाखाले राजधानी काठमाडौंमा हुने अपराध नियन्त्रणका लागि सहकार्य गरेर अघि बढने प्रतिवद्धता जनाएका छन्।

महानगरीय प्रहरी परिसर, काठमाडौंको प्रमुखको जिम्मेवारी पाएका एसएसपी उत्तम सुवेदी र महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी पाएका एसएसपी सहकूल थापाले काठमाडौंमा हुने सबै खालको अपराध नियन्त्रणका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन्।

दुवैले आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काठमाडौंको टोलटोलमा हुने गुण्डागर्दी नियन्त्रणको कामलाई पहिलो प्राथमिकतामा राख्ने योजना पनि अघि सारे। परिसरका प्रमुख सुवेदीले टोलटोलमा गुण्डागर्दी गर्नेहरुको लिष्ट तयार पारिएको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्ने कामलाई उच्च प्राथमिकता दिने कार्य योजना अघि सारे।

त्यसैगरी महानगरीय अपराध महाशाखाका प्रमुख थापाले साईबर अपराध, आर्थिक अपराध र समाजमा भईरहेका सबै खालको अपराध नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर काठमाडौंसँग सहकार्य गरेर अघि बढ्ने बताए। उनले त्यसका लागि दुवै निकायबीच आवश्यक योजना र कार्यक्रम तय गरिएको पनि बताए।

परिसर प्रमुख सुवेदी र अपराध महाशाखा प्रमुख थापाले कार्यभार सम्हालेपछि पहिलो पटक संयुक्त पत्रकार सम्मेलन गरी काठमाडौंमा शान्ति सुरक्षा कायम हुने गरी सहकार्यका साथ काम गर्ने प्रतिवद्धता जनाएका हुन्। परिसरका प्रमुख सुवेदीले टोलटोलमा हुने गुण्डागर्दी अहिलेको लागि समस्याको रुपमा देखिएकाले त्यसको समाधानका लागि आवश्यक योजना तय गरिएको पनि जानकारी दिए।