क्रिकेट रंगशाला : माघसम्ममा खेल्न मिल्ने बनाउने तयारी, जेठभित्रै ३० करोड आवश्यक

चितवन,बैशाख २९ । चितवनको रामपुरमा निर्माण घोषणा गरीएको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आगामी पुस, माघसम्ममा खेल्न मिल्ने बनाइने भएको छ। निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले आइतबार चितवनमा पत्रकारसँगको छलफलमा यो कुरा बताएका हुन्।

आगामी पुस, माघसम्ममा रंगशालामा खेल्न मिल्ने बनाउने गरी तयारी गरिरहेको बताउँदै धुर्मुसले भने, ‘खेल मैदान तयार गरी केही खेल खेलाएर सहयोग संकलन गर्ने योजना रहेको छ।’

उनले निमाणका लागी जेठभित्र कम्तीमा ३० करोड रुपैयाँ आवश्यक पर्ने बताए। धुर्मुसले शिलान्यास पूर्वका विभिन्न संरचना बनाउन र आवश्यक निर्माणका सामग्री खरिदका लागि कम्तिमा ३० करोड तत्काल आवश्यक परेको भन्दै सहयोग संकलन अभियानमा जुट्न सवैसँग आव्हान गरे। उनका अनुसार हालसम्म ७ करोडको हाराहारीमा संकलन भएको छ।

आगामी भदौमा शिलान्यास गरेर निर्माण सुरु गर्ने तयारीमा रहेको फाउण्डेसले देश तथा विदेशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी सहयोग संकलन अभियान सञ्चालन गरीरहेको छ।

साथै सहयोग संकलन अभियानलाई प्रभावकारी बनाउन विभिन्न संघ संस्थासँगको समन्वयमा समिति गठन गरिरहेको छ।  नेपालमै पहिलोपल्ट बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणमा सवैलाई अपनत्व ग्रहण गराउन र निर्माण सम्पन्न गराउन विभिन्न समिति गठन भइरहेको धुर्मुसले बताए। केही दिन अघि मात्रै काठमाडाैंमा खेलकुद क्षेत्रका प्रतिनिधिको छुट्टै खेल समिति गठन गरिएको छ।

समिति गठन अभियानअन्तर्गत चितवनमा पत्रकारको समिति गठन गर्ने विषयमा पनि आइतबार छलफल भएको थियो।  उनले अहिले रंगशाला निर्माण स्थलमा दुवो मार्ने, नयाँ दुवो रोप्ने, उमार्ने, बाहिरी माटो ल्याएर हाल्ने लगायत ग्राउण्डको काम भइरहेको जानकारी दिए।

 

उनका अनुसार केही दिन अघि काठमाडाैं नख्खु लगायत विभिन्न स्थानबाट कालो, चिम्ट्याइलो माटो ल्याइएको छ।  आफू र आफ्नाे टिम रंगशाला निर्माणमा रात दिन नभनी अहोरात्र लागेकाले सम्पन्न गर्न सवैको साथ सहयोग आवश्यक रहेको उनको भनाइ छ। उनले स्रोत व्यवस्थापन मुख्य विषय भएकाले सवैको साथले आर्थिक स्रोत बलियो भए निर्धारित समय २ वर्षभित्र सम्पन्न हुने बताए।

यो राष्ट्र निर्माणको, समृद्धिको अभियान भएकाले यसलाई धुर्मुस सुन्तलीको अभियान हो भनेर नबुझ्न सवैसँग आग्रह पनि गरे।  छलफलमा पत्रकारले गौरवको रंगशाला निर्माणमा यस अघिदेखि नै आवश्यक सहयोग गरिरहेको र आगामी दिनमा थप सक्रिय भएर सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।